Bisal Chautari Logo

चलचित्र ‘बुलाकी’को प्रदर्शन मिति तय, साउन ३२ गते रिलिज हुने

- १९ असार २०८१, मंगलवार १८:५४ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, 
 २०८१ आषाढ १८ मंगलवार
  देश तथा विदेशमा सम्पन्न विभिन्न फिल्म महोत्सव तथा अवार्ड कार्यक्रममा उत्कृष्ट कहलिएको चलचित्र ‘बुलाकी’को नयाँ प्रदर्शन मिति तय भएको छ । निर्माण टिमले यो चलचित्रलाई आगामी साउन ३२ गतेबाट दर्शकमाझ ल्याउने निर्णय गरेको हो ।

गतबर्षको वैशाख १ गते प्रदर्शनमा आउँदा परिस्थिबस् भन्दै निर्माण टिमले दुई दिनमै चलचित्रको प्रदर्शन स्थगित गरेको थियो । तर विभिन्न महोत्सवमा चलचित्रले पाएको उत्साहप्रद प्रतिक्रिया, दर्शक तथा शुभचिन्तकहरूको माग र चाहना अनुसार चलचित्रलाई पुनः प्रदर्शनमा ल्याउने निर्णयमा पुगेको प्रमुख कलाकारसमेत रहेका प्रस्तुतकर्ता विराज विष्टले बताए ।

विष्टले चलचित्रको प्रदर्शन तय भएको उल्लेख गर्दै सार्वजनिक गरेको स्टेटमेन्टमा लेखेका छन्, ‘देश विदेशका विभिन्न चलचित्र महोत्सव, अवार्ड कार्यक्रममा हाम्रो चलचित्रले कथा, पटकथा, निर्देशन, छायांकन, अभिनय लगायतका विभिन्न विधामा अब्बल उपस्थिति जनाउँदै फिल्म सर्वोत्कृष्ट चुनिन सफल रह्यो, देश विदेशमा रहनुभएका नेपाली चलचित्रका शुभचिन्तकहरूले दिनु भएको प्रेम र स्नेहलाई ग्रहण गर्दै यो बीचमा चलचित्रप्रति दर्शकले देखाउनु भएको चासोलाई मध्यनजर गरेर चलचित्र ‘बुलाकी’लाई पुन: प्रदर्शनमा ल्याउने निर्णयमा पुगेका छौं ।’

चलचित्रलाई पुनः सम्पादनसहित यो बीचमा देखिएका कमी कमजोरीलाई थप सुधार गर्दै थप उत्कृष्ट बनाएर दर्शकमाझ ल्याउन लागेको समेत विष्टले उल्लेख गरेका छन् । ‘कसैको पनि एकल प्रयासले कुनै पनि योजना र यात्रा गन्तव्यमा पुग्न सक्दैन । नेपाली रजतपटमा बामे सर्दै गरेको हाम्रो टिम यो बीचका केहि निराशा र आवेगलाई उत्साहमा रुपान्तरण गर्दै पुन: एकपटक यहाँहरू सबैसँग हातेमालो गर्न आएका छौं । नेपाली समाजको दूरदराजको यथार्थतालाई पर्दामा ल्याउँदा यहाँ सबैको साथ सहयोग, सद्भाव र हौसलाको प्रतीक्षा संधै रहनेछ ।’ फिल्म र फिल्म सम्बद्ध संघ संस्थाहरूबाट सहयोगको अपेक्षासहित विष्ट लेख्छन् ।

स्व. मोती विष्टको प्रस्तुति तथा टोपेन्द्र विष्टको निर्माणमा बनेको ‘बुलाकी’लाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । यो चलचित्रमा शिव ढकालको छायांकन र अर्जुन जिसीसँगै निर्देशन सुनारको सम्पादन छ । चलचित्रको कथा तथा पटकथा राजबहादुर सानेको हो ।

यो चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाई लगायत अभिनयमा छन् । अभिनेत्री पन्तले सामाजिक सञ्जालमा पोष्ट लेख्दै नहेर्नु भएका र यसअघि हेर्न छुटाउनु भएकाहरुले नजिकको चलचित्र हलमा गएर चलचित्र हेर्न सक्ने उल्लेख गरेकी छिन् । यो चलचित्रलाई उपत्यकामा रीच इन्टरमेन्ट प्राली र मोफसलमा एफडी कम्पनीले वितरण जिम्मा लिएको छ ।

प्रतिक्रिया