Bisal Chautari Logo

‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को गीत ‘थाक खोला’ सार्वजनिक

- १९ आश्विन २०८३, सोमबार २०:५८ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८३ असोज १९ सोमवार।
निर्देशक रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को गीत ‘थाक खोला’ सार्वजनिक भएको छ । सिनेमा निर्माण टिमले सोमबार बाँसुरी फिल्मस्को अफिसियल युट्युबमार्फत ‘थाक खोला’ बोलको गीत सार्वजनिक गरेको हो ।

कालीप्रसाद बास्कोटाको स्वर रहेको गीत उनकै शब्द र संगीत छ । गीतको मिक्सिङ तथा मास्टरिङ, संगीत संयोजन, गिटारवादन रिकेश गुरुङ किजको रहेको छ । त्यस्तै गीतको सारंगीमा हेमन्त कान्छा रसाइली र बेश गिटारमा कृष्ण लिम्बूले साथ दिएका छन् ।

गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ र सिर्जना गुरुङ फिचर्ड छन् । भिडियोमा दयाहाङको मिरुना, सिर्जना र रिश्मासँगको रमाइलो नोकझोक, प्रेम र सम्बन्धका भावनात्मक पाटोलाई रोचक ढंगले प्रस्तुत गरिएको छ । तीनै जनासँग दयाहाङको प्रेम र उनीहरूबीचको रमाइलो नोकझोकले गीतको भिडियो मनोरञ्जनसँगै सिनेमाको कथाप्रति कौतुहलता पनि बढाएको छ ।

भिडियोको अर्को प्रमुख आकर्षण भनेको थाक खोलादेखि सेताम्य हिमाल र हरियाली डाँडापाखासम्मका मनमोहक प्राकृतिक दृश्य हुन् । यी दृश्यहरूले गीतको भाव र कथालाई अझ सुन्दर तथा जीवन्त बनाएको छ । विशेषगरी भिडियोमा छुट्टै नृत्य वा कोरियोग्राफीलाई प्राथमिकता दिइएको छैन । सिनेमाकै कथाशैलीलाई निरन्तरता दिँदै पात्रहरूको सम्बन्ध, प्रेम, नोकझोक र भावनालाई कथामार्फत प्रस्तुत गरिएको छ ।

यसअघि सिनेमाको टिजर सार्वजनिक गरिएको थियो । टिजरले छोटो समयमै लाखौ भ्युज बटुल्नुका साथै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो । टिजरमा धेरै दर्शकले अभिनेत्री मिरुना मगरको खोजी गरेका थिए । सिनेमाको गीतमा भने उनी देखिएकी छन् । टिजरजस्तै गीतले पनि दर्शकको साथ पाउने टिमको विश्वास छ ।

सिनेमा यस वर्ष दशैंको पर्सिपल्ट अर्थात् कात्तिक ६ गतेबाट प्रदर्शनमा आउनेछ । सिनेमामा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंको अभिनय रहेको छ ।

बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको सिनेमामा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ ९एलजी०ले लगानी गरेका छन् । सागर राज कार्यकारी निर्माता रहेको सिनेमामा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन छ ।

सिनेमाको मुख्य सहायक निर्देशकमा सोमनाथ खनाल र तारानाथ न्यौपाने छन् । नेपालमा सिनेमाको वितरण ब्यांकटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले गर्नेछ भने विदेशी वितरणतर्फ सेभेन सिज इन्टरनेसनल रहेको छ ।

प्रतिक्रिया