Bisal Chautari Logo

‘सतीदेवी’ चलचित्रको टिजर सार्वजनिक

- २५ जेष्ठ २०८१, शुक्रबार १८:४८ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ जेष्ठ २५ शुक्रवार ।
मलिका महतको शीर्ष भूमिका रहेको नारीप्रधान चलचित्र ‘सतीदेवी’को टिजर सार्वजनिक भएको छ । टिजरले चलचित्र को कथावस्तु, चरित्र चित्रण र दर्शकीय मनोविज्ञानबारे खुलासा गर्छ ।

छोराको आशामा छोरी जन्माइरहने र समाजमा छोरीलाई हेलाको सिकार बनाइने विडम्बनापूर्ण परिस्थितिको कथा चलचित्रले पेश गर्छ । चलचित्र मार्फत निर्देशक लक्ष्मण सुवेदीले छोरीको अस्तित्व स्वीकार्न मुस्किल मान्ने पितृसत्तात्मक सोचलाई प्रश्न गरेका छन् ।

चलचित्रको कथा मुख्य पात्र सतीदेवी अर्थात् मलिकाको वरपर घुम्छ । छोरी भएर पनि छोरासरह उभिएर परिवारलाई जोगाउन र सम्बर्द्धन गर्न भूमिका खेल्ने पात्रको कथा यसमा बुनिएको छ । चलचित्रको टिजर र ट्रेलरले यसको कथावस्तुबारे संकेत दिन्छ ।

पछिल्लो समय नारीप्रधान चलचित्रले बक्स अफिसमा दबदबा जमाइरहेको बेला ‘सतीदेवी’ आउन लागेको हो । यसअघि आयोजना गरिएका विशेष शोमा समेत मलिकाको अभिनयको प्रशंसा भएको छ ।

चलचित्रले दक्षिण एसियाली सौराहा चलचित्र फेस्टिभल र सेलिब्रेटी नेपालले आयोजना गरेको ग्रामीण चलचित्र फेस्टिभलमा अवार्ड जितेको छ । यसअघि ‘एउटा साथी’ र ‘लालजोडी’ निर्देशन गरेका सुवेदीको यो तेस्रो निर्देशकीय प्रोजेक्ट हो ।

चलचित्रमा मलिकासहित हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलबहादुर अधिकारी, भोलाराज सापकोटा लगायतको अभिनय छ । लक्ष्मण सुवेदी फिल्म्सको ब्यानरमा यो चलचित्रलाई श्रीदेवी सुवेदी र विशाल सुवेदीले निर्माण गरेका हुन् । चलचित्रको पटकथा र गीत पनि सुवेदीकै छ । चलचित्र साउन ४ गते रिलिज हुँदैछ ।

प्रतिक्रिया