Bisal Chautari Logo

इटहरीमा यहि मङ्सिर ३० गते ‘काँडेतार’को विशेष च्यारिटी शो हुने

- २७ मंसिर २०८०, बुधबार १७:३२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं  २०८० मंसिर २७ बुधवार।
चलचित्र ‘काँडेतार’को इटहरीमा विशेष च्यारिटी शो हुने भएको छ । नेपाल र भारत बिचको बर्षौदेखी उठिरहेको सिमा विवादलाई मुल मुद्धा बनाएर निर्माण भएको यो चलचित्र युनिटले इटहरीमा पत्रकार भेटघाट गर्दै विशेष च्यारिटी शो बारे जानकारी गराएको हो । मंगलबार इटहरीमा अवस्थित परिकला न्युजको कार्यालयमा चलचित्रका तर्फबाट गायिका तथा कार्यकारी निर्माता सत्यकला राई र निर्देशक तथा कलाकर नवल खड्काको उपस्थितिमा पत्रकार भेटघाट कार्यक्रम गरिएको थियो ।

इटहरीमा रहेको इलाईट सिनेमा हलमा यहि मङ्सिर ३० गते चलचित्र‘काँडेतार’को ३ शो प्रदर्शन गरिने निर्देशक तथा कलाकार खड्काले जानकारी गराए । उनका अनुसार पहिलो शो १०:४५ बजे हुनेछ भने दोश्रो शो १ बजे र तेश्रो शो ३ बजे हुनेछ ।चलचित्र हेर्नको लागी श:शुल्क ब्यवस्था रहेको छ । विशेष च्यारिटी शोबाट उठेको रकमलाई सिमा रक्षा गर्नलाई खटिएका पहरेदारहरुलाई हस्तान्तरण गर्ने निर्देशक खड्काले पत्रकार भेटघाटमा जानकारी गराए ।

यसअघि उनले यो चलचित्रलाई देशभर ६० भन्दा बढी विशेष च्यारिटी शो सम्पन्न गरिसकेका छन् । अधिकांश ठाउँमा चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको उनको भनाई छ । आफुले बनाएको यो चलचित्र काँडेतार अहिलेसम्म कसैले बनाउन नसकेको चलचित्र भएको निर्देशक तथा कलाकार खड्काको दावी छ । यदि कसैले बनाएको दावी गर्न सक्छ भने आफुले सो चलचित्रलाई २० लाख दिने ठोकुवा गरे । स्मरण रहोस् यो चलचित्र काँडेतारले २०७७ सालमा नेपाल चलचित्र विकस बोर्डले मौलिक चलचित्र निर्माणमा प्रोत्सान गर्न ‘स्टोरी बैंक’ स्थापना गरेको थियो । जस अन्तर्गत यो चलचित्रले १० लाख पुरस्कार स्वरुप पाएको थियो ।

पछिल्लो समय जनकपुरमा चलचित्रको विशेष च्यारिटी शो सम्पन्न गरेर कोशी प्रदेश प्रवेश गरेका नवलले सोहि दिन अर्थात मङ्सिर ३० गते नै धरानमा पनि काँडेतारको विशेष च्यारिटी शो गर्दैछन् । यतिबेला उनी च्यारिटी शोलाई सफल बनाउन सहयोगी संघसंस्था, समाजसेवी, बुद्धिजीवी लगायतलाई भेट्न ब्यस्त छन् । लामो समयदेखी देशभक्त चलचित्र निर्माण गर्दै आएका नवलकी श्रीमती अर्थात गायिका तथा यो चलचित्रकी कार्यकारी निर्माता सत्यकला राईले आफुहरुले नाफा कमाउन चलचित्र नबनाएको बताईन् । यदि त्यस्तो थियो भने आफ्नो घरबार बेच्दै बनाएको चलचित्र डुब्दा पनि देशभक्त चलचित्र बनाउन हार नखाएको उनको भनाई छ ।

यो चलचित्र काँडेतारमा निर्देशक नवलका अलावा गौरब पहाडी, सुरबिना कार्की, रेबिका गुरूङ्ग, प्रशान्त यादब, मुरलिधर, संजय खतिवडा, रोमियन लिम्बू, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल सिकदार, पर्शुराम चौधरी, महेश गिरी, पुष्प श्रेष्ठ, रितु चौधरी, रबि शाह, ज्ञानेन्द्र कोईराला, प्रेम कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ । शिवम अधिकारी र नवल खड्काको लेखन रहेको चलचित्रको निर्मातामा भने माकिको राई र अन्जु केसी रहेकी छन् । यो चलचित्र आउँदो फागुनको २५ गते सार्वजनिक प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया