विशाल चौतारी समाचार
काठमाडौं, २०८० कार्तिक ४ शनिवार । गत असोज २६ गते शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘परदेशी २’ दोस्रो हप्तामा प्रवेश गरेको छ । पहिलो हप्ता दर्शकबाट अपार माया पाएको चलचित्रले दोस्रो सातामा पनि दर्शको राम्रो साथ पाउने अपेक्षा निर्माण टिमको छ । निर्माण टिमका अनुसार चलचित्रले पहिलो हप्ता बक्सअफिसमा करिब ३ करोड ३० लाख हाराहारी ग्रस कलेक्सन गरेको छ । सुरुवाती दिनमा औसत व्यापार गरेको चलचित्रले विकडेजबाट राम्रो पिकअप लिएको छ । दोस्रो सातामा पाएको शो सङ्ख्याले पनि दर्शकले चलचित्र रुचाएको प्रमाणको रुपमा बुझ्न गाह्रो पर्दैन् । हलमा चलचित्र हेरेर निस्कने दर्शकको आँखा रसाएका दृश्य समाजिक सञ्जालमा छ्यापछ्याप्ती भेटिनुले पनि चलचित्र सफलताको बाटोमा हिडेको बुझिन्छ । दर्शकको राम्रो साथ पाएपछि डेव्यु अभिनेता प्रकाश सपुत अभिनेत्री केकी अधिकारी, वर्षा सिवाकोटीलाई नारायणगढ, बुटवल, र नेपालगञ्ज पुगेर दर्शकसँग साक्षात्कार गर्नुका साथै दर्शकसँग चलचित्रको खुशी साटेका थिए । दर्शकबाट राम्रो साथ पाएपछि निर्माता राजेश बंशल र निर्देशक नारायण रायमाझिले खुशी व्यक्त गरेका छन् । दर्शकको यो साथ र सर्पोटले आगामी दिनमा अझै राम्रो चलचित्र निर्माण गर्ने उर्जा मिलेको उनीहरु बताउँछन् । उज्ज्वल भविष्यको सपनासहित विदेशिन बाध्य युवा र सन्तानको सम्झना र पखाईमा दिन काटिरहेका आमाबुबाको कथालाई देखाइएको नारायण रायमाझी निर्देशित चलचित्रमा प्रकाश र वर्षाका अलवा केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की लगायतको पनि अभिनय छ । नारायण इन्टरनेसनलको प्रस्तुतिमा निर्माण भएको सिनेमानमा गीतकार रमेश बिजीको लेखन छ । निर्देशक रायमाझी र राजेश वंशलले मिलेर चलचित्र निर्माण गरेका हुन् । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।
प्रतिक्रिया