विशाल चौतारी समाचार
काठमाडौं, २०७९ पौष ५, मंगलबार । अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मि शाह र अभिनेता पुष्पा खड्काको अभिनय रहेको फिल्म ‘तिम्रो मेरो साथ’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलन गर्दै ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेटको ट्रेलरमा रोमान्स, थ्रीलर, ड्रामा, बदलाको समिश्रण रहेको छ ।
साम्राज्ञी र पुष्पको रोमान्सबाट सुरु हुने ट्रेलरको बीचमा त्रिकोणात्मक प्रेमकथा, प्रेममा हुने बदला र धोकाको प्लट बुनिएको छ । सहरिया मध्यमवर्गको सम्बन्ध सरल छैन भन्ने थिम यसले पेश गर्छ । यसअघि ‘मारुनी’जस्तो गम्भीर सामाजिक कथामा सहकार्य गरेका पुष्प र साम्राज्ञीले यो मूलधारको प्रेमकथामा दोस्रोपटक सहकार्य गरेका छन् । ट्रेलरमा सन्दीप क्षेत्री, एमिली लामा, सरोज खनाललाई पनि हामीले देख्न सक्छौं ।
अर्नव पौडेल, आर्यन पौडेल र पासाङ लामा निर्माता रहेको फिल्मलाई रमेश एमके पौडेलले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशकीय प्रोजेक्ट हो । निर्देशक समेत रहेका पौडेल निर्माता समेत हुन् । कार्यकारी निर्माता र पटकथा लेखकको रुपमा सबिर श्रेष्ठ छन् । यो फिल्म पुस २९ गते प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया