Bisal Chautari Logo

महजोडीको ‘महापुरुष’लाई प्रिमियरमा सेलिब्रिटीले रुचाए || हरिवंशसंगै निर्देशक प्रदीपको प्रशंसा

- ८ कार्तिक २०७९, मंगलवार ११:२७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ कार्तिक, ८ मंगलबार ।
महजोडी अभिनित चलचित्र ‘महापुरुष’को भब्य प्रिमियर गत सोमबार काठमाडौंमा रिलिजको ५ दिन अगावै गरियो । सफल निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेको यो चलचित्र कात्तिक ११ गते अर्थात् भाइटीकाको भोलिपल्टबाट रिलिज हुँदैछ ।

चलचित्रलाई प्रिमियरमा सेलिब्रिटीहरुले रुचाएका छन् । कलाकार किरण केसीले महापुरुष आफूलाई अहिलेसम्मकै उत्कृष्ट फिल्म लागेको प्रतिक्रिया दिए । ‘फिल्मको प्रशंसा शब्दमा गर्न सक्दिन । हरिवंशको अभिनय जीवन्त छ । प्रदीपले सुहाउँदो रोल र कथामा फिल्म तयार गरेका छन्,’ उनले भने । निर्देशक तथा अभिनेता निश्चल बस्नेतले कथा र पात्र चयनमा फिल्ममा निकै ध्यान दिइएको बताए । ‘हरिवंश दाइको धेरैपछि यस्तो रुपमा अभिनय हेर्न पाइयो । फिल्ममा मदन दाइ लगायत अन्य क्यारेक्टर पर्फेक्ट हुनुहुन्छ । धन्यवाद टिमलाई,’ निश्चलले भने ।

अभिनेत्री स्वस्तिमा खड्काले फिल्मको कास्टिङ ‘पर्फेक्ट’ रहेको बताइन । उनले नवकलाकार अरुण क्षेत्री र अञ्जना बराइलीको अभिनयको प्रशंसा गर्दै फिल्म उद्योगमा स्वागत रहेको बताइन् । अभिनेत्री केकी अधिकारीले फिल्ममा उठान गरिएको विषयवस्तुले युवालाई सोच्न बाध्य बनाउने बताइन् । कलाकार खगेन्द्र लामिछानेले ‘महापुरूष’लाई बाको कथामा बनेको उत्कृष्ट फिल्म भएको बताए । प्रिमियरमा सेलिब्रिटीहरुको प्रतिक्रियाले पाहुनाहरुबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले आफूहरु उत्साहित भएको मुख्य अभिनेता हरिवंश आचार्यले बताए ।

रवीन्द्र सिंह बानियाँ कार्यकारी निर्माता र म्याक्स दीपेश खत्री निर्माता रहेको फिल्ममा मदनकृष्ण श्रेष्ठ र गौरी मल्लको पनि मुख्य भूमिका छ । अभिनेता श्रेष्ठले प्रिमियरमा प्राप्त प्रतिक्रियाले मन खुसी भएको बताए । उनले फिल्म राम्रो बनेको बताउँदै भोलिका दिनमा पनि फिल्म खेल्ने बताए । अभिनेत्री गौरी मल्लले महजोडीसँग काम गर्ने सपना साकार भएकोमा खुसी व्यक्त गरिन् । एकल अभिभावकको एक्लोपनको कथा पेस गर्ने फिल्ममा दीपक बज्राचार्यको छायांकन र मित्र डी. गुरुङको सम्पादन छ ।

प्रतिक्रिया