Bisal Chautari Logo

काभ्रेमा मात्रै एक हजार एकजनामा कोरोना सङ्क्रमण

- २६ आश्विन २०७७, सोमबार ०६:२६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २६ सोमवार । काभ्रेमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या एक हजार एक पुगेको छ । हालसम्म ३६३ महिला र ६३८ पुरुष सङ्क्रमित रहेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण, कमान्ड पोस्टले जनाएको छ ।

आइतबारसम्म सक्रिय सङ्क्रमितमध्ये १५० महिला र २४९ पुरुष छन् । काभ्रेमा हालसम्म पाँच पुरुष र चार महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

सङ्क्रमितमध्ये २०१ महिला तथा ३९२ पुरुषमा संक्रमण निको भइसकेको पोस्टका सदस्य-सचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाले जानकारी दिए । उनका अनुसार कुल सङ्क्रमितमध्ये हालसम्म ५९३ जना उपचारपछि निको भई घर फर्किएका छन् । अधिकांश सङ्क्रमित ४५ वर्ष नाघेका रहेको तथ्याङ्‍क छ ।

काभ्रेमा पछिल्लो केही दिनदेखि दैनिक सरदर ३० को संख्यामा संक्रमित थपिँदै गएको तथ्यांकले देखाएको छ । आइतबार ४३ जनामा कोरोना सङ्क्रमण देखियो भने शनिबार १८, शुक्रबार ४३ तथा बिहीबार २३ जनामा सङ्क्रमण देखिएको छ । एकै दिन काभ्रेमा ७९ जनामा सङ्क्रमण देखिएको थियो । “काभ्रेमा हाल सरदर दैनिक ३० को हाराहारिमा संक्रमणदर देखिएको छ,” डा. झाले भने ।

पोस्टका अनुसार हाल सक्रिय संक्रमितमध्ये ३० महिला र ८० पुरुष अस्पताल आइसोलेसन र १२० महिला र १६९ पुरुष होम आइसोलेसनमा उपचाररत छन् । नेपालमा कोरोना भाइरस्बाट पहिलोपटक काभ्रेस्थित धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको मृत्यु भएको थियो ।

यसैबीच काभ्रेका १३ मध्ये तीन गाउँपालिका कोरोनामुक्त छन् । बेथानचोक, तेमाल र खानीखोला गाउँपालिका कोरोना मुक्त भएका हुन् । सबैभन्दा कम चौंरीदेउराली गाउँपालिकामा एकजना पुरुषमा संक्रमण देखिएको छ । हाल सक्रिय सङ्क्रमितमध्ये धुलिखेलमा ११९, पनौतीमा ३१, पाँचखालमा ३९, नमोबुद्धमा २७, मन्डनदेउपुरमा नौ, भुम्लु गाउँपालिकमा तीन, रोशीमा १०, महाभारत गाउँपालिकामा तीनजना छन् । -रासस

प्रतिक्रिया