chha maya chhapakkai movie
विशाल चौतारी समाचार
काठमाडौं, २०७६ बैशाख १६ सोमबार । नेपाली चलचित्र इतिहासमा सबैभन्दा बढी ब्यापार गर्न सफल सिनेमाको टिम दीपकराज गिरी र दिपाश्री निरौलाले निर्माण गर्ने चलचित्र ‘छ माया छपक्कै’को औपचारिक घोषणा गरिएको छ । सोमबार सोल्टी होटलस्थित पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र ‘छ माया छपक्कै’को सम्पूर्ण कलाकार तथा प्राविधिकको परिचय गराइएको हो ।
दीपेन्द्र लामाले निर्देशन गर्ने चलचित्र ‘छ माया छपक्कै’ मा दिपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपालको मुख्य भुमिका रहने छ । कार्यक्रममा चलचित्रका कलाकारलाई सिनेमामा परिचित गराउने भुमिकामा नाटक शैलिमा सिनेमाको घोषणा गरिएको थियो । चलचित्रमा केकी र दिपक पहिलो पटक जोडीको रुपमा देखिदैछन् । चलचित्रले करिब ४० वर्ष उमेर अन्तरालमा विवाह गरेको जोडीको कथा भन्ने छ । निर्देशक लामाले यो चलचित्र छक्का पञ्जाको सिरिज नभएको बताए । यो चलचित्रमा छक्का पन्जाकै जस्तो सामाजिक कथा वस्तु उठाइएको भने छ ।’
छक्का पन्जा निर्माण तथा अभिनय गर्दै आएका दिपकराज गिरीले यो चलचित्रमा लगानी गरेको छैनन् । चलचित्रमा रोहित अधिकारीको लगानी रहेको छ । चलचित्रको ५० प्रतिशत नाफा लिने सहमतिमा चलचित्र साइन गरेका दिपकराजले चलचित्रलाई घाटा भयो भने पारिश्रमिक नलिने बताएका छन् ।
दिपकराजले बजारमा कलाकारले लिने पारिश्रमिकको बारेमा संकेत गर्दै भने, ‘पारिश्रमिकको बारेमा बोल्नु पर्दा यो मेरो नँया प्रयोग हो । जब सम्म रोहित जीको लगानी सुरक्षित हुँदैन, तब सम्म हामी कसैले पनि एक रुपैया पाउदैनौं ।’
अभिनेत्री केकी अधिकारीले चलचित्र क्षेत्रलाई हाकेको टिमसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन् । भूमिका चित्त बुझेका कारण काम गर्न राजी भएको उनको भनाई छ । दीपकराजले चलचित्रको पटकथा लेख्ने क्रममा नै ‘यो क्यारेक्टरमा केकी सुहाउँछ’ भन्ने आफूले सोचेको बताए ।
चलचित्रमा दिपाश्री निरौला सल्लाहकार निर्देशकको रुपमा प्रस्तुत भएकी छन् । जेठ पहिलो साताबाट छायांकन सुरु हुने चलचित्रलाई हरि हुमागाइँले खिच्नेछन् । रोशन श्रेष्ठको द्वन्द्व रहने चलचित्रमा दीपक शर्माको संगीत छ । चलचित्रका गीतमा कविराज गहतराजको कोरियोग्राफी रहनेछ । सम्पादन भने विपिन मल्लले गर्ने भएका छन् ।
निर्देशक लामाको कथा रहेको फिल्मको पटकथा दीपकराजको हो । संवादमा भने दीपकलाई केदार, जितु र अभिमन्यू निरबीले सघाएका छन् । जितु र केदार चलचित्रका कार्यकारी निर्माता हुन् ।
प्रतिक्रिया