political news
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक १४ मंगलवार । प्रधानमन्त्री शेर बहादुर देउवाले चुनावमा जिताउनका लागि आफू निकटका ३ सय १० कार्यकर्तालाई राज्यकोषबाट एकै दिन ४ करोड ५८ लाख ५० हजार भन्दा वढि रकम वितरण गरेको छ। यस अघि पनि सरकारले असोज २ गतेको चुनावका लगि आफू निकटका ८सय ८७ जनालाई झण्डै १० करोड रुपैया वितरण गरेको थियो।
देउवा आफैले गृह मन्त्रालय सम्हालेपछि गृह मन्त्रालयकै प्रस्तावमा आफू निकटका कार्यकर्तालाई निर्वाचनको मुखैमा वितरण गर्ने निर्णय गरिएको हो। गत ६ कार्तिकमा वसेको मन्त्रिपरिषद् वैठकले गृह मन्त्रालयको प्रस्तावमा ३ सय १०जनालाई आर्थिक सहायता वितरण गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार रकम पाउनेमा सत्तासीन दलका कार्यकर्ता तथा उच्च नेता निकटका व्यक्तिहरु रहेका छन्। निर्वाचनमा कार्यकर्तालाई परिचालन गर्न सो रकम वितरण गरिएको गृह मन्त्रालयकै एक अधिकारीले दावी गरे। रकम कुनै मापदण्ड विना नै हचुवाको आधारमा दिइएको छ।
रकम पाउनेहरुले ५० हजार देखि १० लाख सम्म पाएका छन्।गृह मन्त्रालयका प्रवक्ता नारायण शर्मा दुवाडीले आर्थिक सहायता वितरणको निर्णय भएपनि त्यसको औपचारिक जानकारी गृह मन्त्रालयमा आउन वाकी नै रहेको जानकारी दिए।
मन्त्रालय अन्तर्गत रहेको सहजीकरण शाखाले आर्थिक सहायता सम्वन्धि प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो।’आर्थिक सहायता दिने सम्वन्धि प्रस्ताव हामीले पठाएका थियौ निर्णय भएर आएको छ।’ ’ मन्त्रालयका सहजीकरण शाखाका एक अधिकारीले भने।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले पनि आर्थिक सहायता वितरण सम्वन्धमा गरिएको निर्णय सोमवार प्रधानमन्त्री कार्यालय वाट गृह मन्त्रालयमा पठाइएको जानकारी दिएको छ।रकम पाउनेमा प्रधानमन्त्री देउवाको गृह जिल्ला डडेलधुरा, उपप्रधानमन्त्री गोपाल मान श्रेष्ठको गृह जिल्ला स्याङ्जा, वझाङ, कञचनपुर, कैलाली, जुम्लाका अत्याधिक छन्।
आर्थिक सहायता पाउनेमा चार दर्जन भन्दा वढि त प्रधानमन्त्रीको गृह जिल्ला डडेलधुराकै रहेका छन्। यसैगरि आर्थिक सहायता पाउनेमा कञ्चनपुर, कैलाली र स्याङ्जाका पनि अत्याधिक संख्यामा रहेका छन्।
प्रतिक्रिया