Bisal Chautari Logo

खोटाङमा कार्यकर्ता कुटपिट मुद्दामा कांग्रेस सभापतिको हार

- २७ जेष्ठ २०७२, बुधबार ०५:३६ मा प्रकाशित


bishnu kumar rai worker beaten on the issue defeat
विशाल चौतारी समाचार
खोटाङ, २०७२ जेष्ठ २७ बुधवार । जिल्ला अदालत खोटाङमा नेपाली काँग्रेसका सभापति विष्णुकुमार राई विरुद्ध दर्ता भएको कुटपिट मुद्दामा वादी लोकेन्द्र राईको पक्षमा फैसला भएको छ । ०७१ साउन २२ गते सभापति राई सहित तीनजना विरुद्ध दायर गरिएको मुद्दामा जिल्ला अदालतका न्यायधिश इश्वरीप्रसाद गौतमको एकल इजलासले जेठ १८ गते कुटपिट गरेको ठहर गर्दै मूलुकी ऐनको कुटपिट महलको ९ नं. अनुसार रु पाँच सय जरिवाना हुने फैसला सुनाएको छ भने, सोही महलको १८ (२) बमोजिम हुलहुज्जत सहित प्रतिवादीलाई लागेको जरिवानाको प्रतिव्यक्ति १५ प्रतिशत थप जरिवाना हुने समेत ठहर गरेको छ ।

bishnu kumar rai worker beaten on the issue defeat
त्यस्तै, कुटपिट महलकै २५ नं. बमोजिम वादी लोकेन्द्र राईले घाउजाँच खर्च समेत भराई लिन पाउने फैसला भएको जिल्ला अदालतका श्रेष्तेदार शिवप्रसाद पराजुलीले बताउनुभयो । कांग्रेस लफ्याङ गाउँ सभापति रहेका लोकेन्द्र राईले आफूमाथि कुटपिटमा संलग्न जिल्ला सभापति राईसहित चार जनाविरुद्ध ०७१ साउन २२ गते मुद्दा दायर गर्नुभएको थियो । क्षेत्र नम्बर–२ को अधिवेशनकाक्रममा निर्घात कुटिएका गाउँ सभापति राईले जिल्ला सभापति राई, पूर्व जिल्ला सदस्य रमेश खड्का, तरुण दलका जिल्ला उपाध्यक्ष भलकाजी गुरुङ र कार्यकर्ता सुमन गुरुङलाई दोषी बनाएर अदालतमा मुद्दा दिनुभएको थियो ।
जिल्ला सभापति राईकै प्रत्यक्ष संलग्नता तथा योजनामा गत ०७१ असार २१ गते कुटपिट गरे लगत्तै जिल्ला प्रहरी कार्यालयमा दिइएको उजुरी सभापति राईको दवावका कारण दर्ता गर्न प्रहरीले अस्वीकार गरेपछि अदालतमा मुद्दा दर्ता गराएको पीडित राईको भनाइ छ ।
टाउको, आँखा र ढाडमा चोट लागेका राईको घाजाँचका लागि दिएको किटानी जाहेरी लिन समेत प्रहरीले डेढदिन आलटाल गरेका थिए । प्रहरीले किटानी जाहेरीबाट दोषीहरुको नाम हटाउन लगाएको र हटाएपछि मात्र प्रहरीले घाजाँच गराएको पीडित राईकी श्रीमती सशिकला राईले बताउनुभयो ।
आफ्नो पक्षका उम्मेदवारलाई असहयोग गरेको भन्दै जिल्ला सभापति राई सहितको समूहले लोकेन्द्रलाई कुटपिट गरेको उनी निकट नेताहरुको आरोप छ । अधिवेशनकाक्रममा सदरमुकाम दिक्तेलस्थित त्रिवेणीचौकमा राईमाथि कुटपिट भएको थियो ।
कुटपिटबाट घाइते बनेका राईको जिल्ला अस्पताल खोटाङमा उपचार भएको थियोे । उक्त घटनाको विषयमा प्रकाशन तथा प्रशारण भएको समाचारको विषयलाई लिएर जिल्ला सभापति राईले, आफ्नो व्यक्तिगत चरित्र हत्या गर्न खोजिएको प्रतिकृया दिदै आएका थिए । उनले कुटपिट घटनामा आफ्नो संलग्नता रहेको पुष्टी भएको भोलीपल्टै राजनीतिबाट राजीनामा दिने समेत विज्ञप्तीमार्फत चेतावनी दिएका थिए ।
कुटपिट घटनापश्चात आक्रोशित भएका महिला सशक्तिकरण समूह लफ्याङ, लाफेहँछा परिवार लगायतले तत्कालै प्रमुख जिल्ला अधिकारीमार्फत सभापति राईलाई ‘लुङ्गी उपहार’ पठाएका थिए । यसै विषयमा प्रकाशित समाचारको विषयलाई लिएर नयाँ पत्रिका दैनिकका संवाददाता केदार मगरलाई सभापति राईले कलम उपहार पठाएका थिए भने विभिन्न व्यक्ति तथा समूहबाट धम्की समेत आएको थियो ।

यो पनि क्लिक गरी हेर्नुहोस् ।

खोटाङमा आफ्नै कार्यकर्ता कुटपिटमा संलग्न सभापति विष्णुकुमारलाई लुङ्गी उपहार 

प्रतिक्रिया