Bisal Chautari Logo

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको सयौं जन्मजयन्ती मनाइदैं

- २४ भाद्र २०७०, सोमबार ०६:२२ मा प्रकाशित


२४ भदौ, काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको आज १सयौं जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । यस अवसरमा वर्षैभर शतवाषिर्की मनाउने तयारी विभिन्न संघसंस्थाहरुले गरेका छन् । १सय वर्ष अगाडि आजैका दिन जन्मनु भएका कोइराला नेपाली प्रजातान्त्रिक आन्दोलनका कहिल्यै नओइलाउने नाम हुनुहुन्छ ।

विश्व समाजवादी आन्दोलनका अगुवासमेत रहनुभएका वीपी कोइरालाको समाजवादी विचारधारा नेपालका लागि यद्यपी सान्दभिर्क मानिन्छ । विक्रम सम्वत १९७१ साल भदौ २४ गते भारतको बनारसमा जन्मनु भएका कोइरालाको बिसं २०३९ साउन ६ गते निधन भएको थियो ।नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाले एकतन्त्रीय राणाशासन र पञ्चायत विरोधी आन्दोलनको नेतृत्व गर्नुभएको थियो । बिसं २०१७ साल पुस १ गते कोइराला प्रधानमन्त्रित्वको सरकारलाई अपदस्त गरी तत्कालीन राजा महेन्द्रले मलुकमा दलविहीन पञ्चायती व्यवस्था लागु गरेपछि वीपीले ८ वर्ष जेल जीवन बिताउनुभएको थियो । त्यसलगत्तै २०२५ सालमा भारत निर्वासनमा जानुभएका वीपी विदेशीका कारण नेपालको आन्तरिक राष्ट्रियतामा आघात पुगेको निष्कर्षसहित राष्ट्रिय मेलमिलापको नीति लिएर बिसं २०३३ सालमा नेपाल फकिर्नु भएको थियो ।
नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याउनुभएका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको घाँटीको क्यान्सरका कारण २०३९ साल साउन ६ गते निधन भएको थियो ।
क्रान्तिद्धष्टा, सिद्यान्तनिष्ठ र अटल राष्ट्रवादका धनी बीपी साहित्यमा अराजक र राजनीतिमा व्यवहारवादी हुनुहुन्थ्यो । उत्पीडन, कठोर यातना र अत्यन्त कठिन अवस्थामा पनि राष्ट्िरयता र प्रजातन्त्रप्रतिको आधारभूत निष्ठालाई नत्याग्ने बीपीले जीवनभर देश र जनताकै लागि संघर्ष गर्नुभयो । वि.सं. २००७ सालको क्रान्तिका योद्धा बीपीले तत्कालीन राजा महेन्द्रसँगको लडाइँमा गरिने आन्दोलनमा शान्तिपूर्ण क्रान्तिको बाटो रोज्नुभएको थियो ।
क्रान्तिमा हिंसाको बाटो सजिलो भए पनि हामीले यो बाटो सजिलो हुन्छ भनेर रोज्नु हुन्न भन्ने भनाइमा बीपी सधैं अडिग रहनुभयो । २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गर्नुभएका उहाँ भारतीय स्वतन्त्रता आन्दोलनमासमेत संलग्नु हुनुभएको थियो । भारतका पहिलो राष्ट्रपति राजेन्द्रप्रसाद, प्रधानमन्त्री जवाहरलाल नेहरु, समाजवादी नेताहरु जयप्रकाश नारायण, राममनोहर लोहिया जस्ता नेतासँग उहाँको प्रत्यक्ष बसउठ थियो ।
बी.पी. कोइरालाले मुलुकमा प्रजातन्त्रको स्थापना र राष्ट्रय हित प्रबर्दनका लागि कयौं पटक जोखिम मोल्नुभएको थियो । राणाशासनको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्ने २००७ सालको क्रान्तिको नेतृत्व गर्नुहुने कोइराला २०१५ सालमा भएको पहिलो आम चुनावपछि जननिर्वाचित पहिलो प्रधानमन्त्री बन्नुभयो ।
कोइरालालाई अपदस्थ गरी २०१७ सालमा राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्था लागु गरेपछि थुप्रै वर्ष उहाँले जेल जीवन बिताउनु भयो । प्रजातान्त्रिक समाजवादका पक्षधर वीपी सधै ग्रामीण अर्थतन्त्रमुखी विकासका चिन्तक हुनुहुन्थ्यो । २०१५ सालमा प्रथम पटक जननिर्वाचित प्रधानमन्त्रीका रुपमा वीपीले अंगिकार गर्नुभएको आथिर्क सुधार र परिवर्तनको बाटो लोकप्रीय भइरहेकै बेला तत्कालीन राजा महेन्द्रले सैनिक सहयोगमा वीपीलाई अपदस्थ गरी शासन व्यवस्था आफ्नै हातमा लिनुभएको थियो ।
पञ्चायती व्यवस्थाविरुद्ध निरन्तर संघर्ष गर्नुभएका कोइरालाले देशको राष्ट्रियता कमजोर बन्दै गएपछि २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति अख्तियार गरी भारत प्रवासबाट स्वदेश फर्कनु भएको थियो । संवैधानिक राजतन्त्र र प्रजातन्त्रका पक्षमा आफूलाई उभ्याउनु भएका स्वर्गीय कोइराला नेपाली जनताको अधिकार रक्षाका लागि निरन्तर संघर्षरत हुनुभयो ।
आफ्नो आस्था, आदर्श, सिद्धान्तबाट कहिल्यै पछि नहट्ने एक महान् राष्ट्रवादी चिन्तक स्वर्गीय कोइराला नेपाली राजनीतिमा मात्र नभई साहित्यका फाँटमा पनि त्यतिकै चचिर्त हुनुहुन्छ । कोइरालाका आत्मकथा, जेल जीवन, दोषी चस्मा, यहुदी र हिटलर, सुम्निमा, मोदीआइन, स्वेत भैरवी, तीन घुम्ती, नरेन्द्र दाईलगायतका थुप्रै बहुचचिर्त कृति प्रकाशित छन् ।

प्रतिक्रिया