Bisal Chautari Logo

आनन्द कार्की मेडिकल ट्रष्टका लागी एकल साझमा उत्रदै

- ५ जेष्ठ २०७१, सोमबार १३:०४ मा प्रकाशित


ananda karki
काठमाडौं, २०७१, जेठ, ५ सोमबार । नेपाली सुगम संगीतमा कुनै समय ब्यास्त गायक आनन्द कार्कीले मेडिकल ट्रष्टका लागी एकल साझमा उत्रने भएका छन् । आज सोमबार राजधानिमा एक औपचारीक रुपमा पत्रकार सम्मेलनको आयोजना गरी एकल साझ हुने बारेमा जानकारी गराइएको थियो ।
हिमाली जिल्ला सोलुखुम्बुमा बिरामी परेकाका लागि सहयोग गर्न राजधानीमा स्थापना गरिएको वाकु प्रतिष्ठान नेपालको मेडिकल ट्रष्टको सहयोगार्थ गायक आनन्द कार्कीले एकल साँझ गर्ने भएका हुन् । सोलुखुम्बु नै जन्मघर भएका कार्कीले आगामी जेठ १२ गते सोमबार राजधानीको जमलस्थित राष्ट्रिय नाँचघरको सभाहलमा भेला हुने संगीतका पारखीलाई दुई दर्जन आफ्ना कर्णप्रिय गीतमार्फत मनोरञ्जन दिलाउनेछन् । एकल साँझ आयोजक गाउँले इन्टरटेनमेन्टका प्रमुख बलबहादुर राईले सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ‘सांगीतिक कार्यक्रमार्फत मेडिकल ट्रष्टमा केही आथिर्क सहयोग संकलन होस् भन्ने पनि हाम्रो उद्देश्य हो,’ राईले बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै गायक कार्कीले संगीतको कदर हुने स्थानमा मात्र आफुले कार्यक्रम गर्न चाहेकाले नाँचघरको सभाहललाई उपयुक्त स्थान रोजेको बताए । कार्कीले भने ‘मलाई रेष्टुरेन्ट तथा पाएभ स्टार होटलमा कार्यक्रम गर्न मन पर्दैन, बरु थोरै मान्छे हुन् तर संगीत बुझ्ने मान्छेका बीच कार्यक्रम गर्न रमाइलो हुन्छ, त्यसैले मलाई नाँचघर नै उपयुक्त लाग्यो,’ कार्कीले बताए । कार्यक्रमबाट आफुले एक रुपैंयाँपनि नलिएको बताउदै गायक कार्कीले बरु एकल साझमा आउने १२ जना वाद्यवादकलाई चाही पारिश्रमिक दिने बताए ।
२०४२ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका उनले नेपाली सुगम संगीत तथा फिल्मी संगीत गरि करिब दुई हजार बढी गीत गाईसकेका छन् । पचास भन्दा बढी हिट गीत दिईसकेका कार्कीले कार्यक्रममा दुई दर्जन बढी गीत गाउनेछन् । भारतको लखनऊमा शास्त्रीय संगीत सिकेका कार्कीले सन् १९९ मा भारतीय चचिर्त रियालिटी शो सारेगमको उपाधि पनि जितिसकेका छन् । उनले गाएका ‘वनमा फूल्यो फूल’, ‘भरे आउँछु सपनीमा’, ‘जनम जनम जीउँला सँगै’, ‘बिहानी पहिलो किरण सरी’, ‘ओठले नबोले पनि’, ‘म तिमी बिना मरिहाल्छु,’ ‘सधैं बस्ने चौतारीको’, ‘यी हल्लाहरु हुन्,’, ‘लाग्छ मन हेरीरहुँ’, ‘जेजे हुने हो यहाँ’ र ‘पहिलो चोटी पिउँदैछु’ जस्ता गीत सुपरहिट गितमा पर्दछन् । कार्यक्रममा गायक कार्कीलाई युगल गायनमा मिलन अमात्य, जुना प्रसाई, प्राश्ना शाक्य र शोभा काफ्लेले साथ दिनेछन् । अपरान्ह ४ बजेबाट करिब अढाई घण्टासम्म चल्ने कार्यक्रमबाट उठेको रकम आयोजक र वाकु प्रतिष्ठान नेपालको मेडिकल ट्रष्टले ५०/५० प्रतिशत बाँड्ने जनाइएको छ ।

प्रतिक्रिया