Bisal Chautari Logo

चलचित्रकर्मि रोज राणालाई सुशिलले टिकट दिए, शेरवहादुरपनि सकारात्मक

- २ आश्विन २०७०, बुधबार १३:४० मा प्रकाशित


२ असोज, काठमाडौ । आफ्नो जन्मथलो प्यूठान क्षेत्र नम्बर २ बाट प्रत्यक्ष उम्मेदवारको सिफारिशमा नाम परेपछि चलचित्रकर्मी,  रोज राणालाई भ्याइनभ्याई छ । उनी नेपाली कांग्रेसका विभिन्न नेताहरुलाई भेट्न पार्टी अफिस देखि घरसम्म पुगिरहेका छन् । क्षेत्रिय रुपमा सिफारिश भएको रोजको नाम केन्द्रले पनि पारित गरेमा उनी सभासद पदका लागि मंसिर ४ गते प्रत्यक्षबाट लड्ने छन् ।
उनले आज बिहान नेपाली कांग्रेसका सभापती सुशिल कोइराला, उपसभापती रामचन्द्र पौडेल र कांग्रेसकै बरिष्ठ नेता शेरबहादुर देउवालाई भेटेका थिए । भेटमा सबै नेताहरु सकारात्मक रहेको रोजले बताए । चलचित्र क्षेत्रका विभिन्न संघसंस्थाहरुको हस्ताक्षर सहितको पत्र लिएर रोज नेताहरुको घरमा पुगेका थिए । चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्का, चलचित्र निर्देशक समाजका महासचिव ऋषि लामिछाने, चलचित्र दन्द्ध कलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठ र चलचित्र लेखक संघका अध्यक्ष युगेश रायमाझीको हस्ताक्षर सहितको पत्र लिएर रोज नेताहरुको घरमा डेलिगेशन गएका हुन् । भेटमा नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले रोजलाई हुन्छ भन्ने जवाफ दिएका थिए । यस्तै उपसभापति रामचन्द्र पौडेलले पनि टिकट दिलाउन आफ्नो समर्थन रहने बताएका थिए । यता कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले रोजको बिषयमा आफूलाई थाहा भएको भन्दै धन्न नमान्न आग्रह गरेका थिए । नेपाली सिनेमाका विभिन्न चलचित्रकर्मीहरु संविधान सभाको निर्वाचनमा उम्मेदवार बन्न लागेको खबरहरु बाहिर आइरहेका छन् । यस भिडमा निर्माता रोज राणाको संभावना भने अरुको भन्दा ज्यादा देखिएको छ । केही समय अघि प्यूठान जाँदा रोजलाई भव्य स्वागत गरिएको थियो । रोजले चुनावको टिकट पाए सबै चलचित्रकर्मीहरु प्यूठान पुगेर समर्थन जनाउने बताइएको छ ।

प्रतिक्रिया