Bisal Chautari Logo

विमल घर्तीमगरले एएफसी यु–१६ कप्तान सम्हाल्ने

- ३ आश्विन २०७०, बिहीबार ०६:१० मा प्रकाशित


३ आश्विन, काठमाडौं । युवा स्ट्राइकर विमल घर्तीमगरले एएफसी यु–१६ छनोट चरणको खेलमा नेपाली टोलीको कप्तानी सम्हाल्ने भएका छन् । यु–१६ च्याम्पियनसिप र साफ च्याम्पियनसिप फुटबलमा गरेको प्रदर्शनका आधारमा युवा टोलीको नेतृत्व विमललाई दिइएको प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन् । प्रशिक्षकले भने, अन्तर्राष्ट्रिय प्रदर्शनलाई हेरेर नै कप्तान छान्ने गरिन्छ । विमलले सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेको अनुभव छ । त्यसैले विमललाई कप्तानमा छनोट गरेका हौं ।’ यसअघि यु–१६ कप्तानमा हेमन्त थापा थिए ।

साफ च्याम्पियनसिप यु–१६ को दोस्रो संस्करण काठमाडौंमा हुँदा विमल सर्वाधिक गोल गर्ने हुन् । उनले प्रतियोगितामा ६ गोल गरेका थिए । त्यस्तै एक साताअघि काठमाडौंमा सकिएको साफ च्याम्पियनसिपमा विमलले राष्ट्रिय टोलीबाट पाकिस्तानविरुद्ध सनसनीपूर्ण एक गोल गरेका थिए । बुधबार थ्री स्टार क्लबसँग मैत्रीपूर्ण खेल्दा विमलले यु–१६ को कप्तानी सम्हालेका थिए । नेपालले ६ दिनपछि दशरथ रंगशालामा एएफसी यु–१६ अन्तर्गत समूह ‘सी’ को छनोट खेल खेल्दैछ । समूहमा नेपालसहित इराक, बहराइन र तुर्कमेनिस्तान छन् । नेपालले असोज ९ मा इराकसँग खेलेर प्रतियोगिता सुरुआत गर्नेछ ।

प्रतिक्रिया