Bisal Chautari Logo

खोटाङमा कृषिलाई प्राथमिकतामा राख्दै २ अर्ब २३ करोड बजेट आगामी वर्षका लागि विनियोजन

- १६ फाल्गुन २०७१, शनिबार ०५:५८ मा प्रकाशित


KHOTANG Agriculture Priorities 2 billion 23 million budget
विशाल चौतारी समाचार
खोटाङ, २०७१, फल्गुन १६, शनिबार । कृषिलाई पहिलो प्राथमिकतामा राख्दै आथिर्क वर्ष २०७२ र ०७३ का लागि चालुतर्फ एक अर्ब ३९ करोड २९ लाख १६ हजार तथा पूँजीगततर्फ ८४ करोड ५९ लाख १२ हजार गरी २ अर्ब २३ करोड ८८ लाख २८ हजार बजेट बिनियोजन गरिएको छ ।
‘सृर्जनशिल खोटाङको चाहना, समतामूलक आत्मनिर्भर र समृद्ध समाजको स्थापना’ भन्ने नाराकासाथ बुधबार सम्पन्न २२ औं जिल्ला परिषदमा स्थानीय विकास अधिकारी महेन्द्रकुमार सापकोटाले जिल्ला विकास समिति, विषयगत कार्यालय, गैर–सरकारी कार्यालय तथा साझेदार संस्थाले सञ्चालन गर्ने अनुमानित बढि बजेट प्रस्तुत गरेका हुन् ।

KHOTANG Agriculture Priorities 2 billion 23 million budget
उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुभएको जिल्ला परिषदले गत वर्षको तुलनामा यस वर्ष एक अर्ब ९२ करोड ५९ लाख २७ हजार बढिको अनुमानित बजेट पास गरेको छ । जिल्लाको गरिबी न्यूनिकरण तथा आयआर्जनका लागि परिषदले कृषिलाई पहिलो प्राथमिकता दिएको स्थानीय बिकास अधिकारी सापकोटाले जानकारी दिए ।
कृषि क्षेत्रको व्यवसायिकरण तथा सामाजिक आथिर्क पुर्वाधार विकासमार्फत जिल्लालाई समृद्ध बनाउन कृषि तथा पशुपालन क्षेत्रको विकास, बिस्तार, विविधिकरण र व्यवसायिकरणमा जोड दिइएको सापकोटाले बताए । ‘कृषि, जलश्रोत र पर्यटन समृद्ध खोटाङको पर्याय’ भन्ने नारालाई मूल मार्गदर्शन बनाएको परिषदले कृषि तथा बजारीकरणमैत्री सडक लगायतका पुर्वाधार विकास, कृषि उपज संकलन गर्न दुबै निर्वाचन क्षेत्रमा कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण, ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन, सुँगुर पालन व्यवसायमा लगानी अभिबृद्धी, माछा पालनलाई बढावा दिँदै ‘फिसिङ टुरिज्म’को सम्भावता अध्यायन, लघु, मझौला तथा ठूला जलविद्युत आयोजनामा लगानी गर्ने वाताबरण सिर्जना, तुवाचुङ, हलेश्वर महादेब, मारातिका छोलिङ गुम्बालाई समेटेर बृहत हलेसी गुरुयोजना कार्यान्वयन लगायतका नीति तथा कार्यक्रमहरु पारित गरेको छ ।
यस्तै, हलेसी क्षेत्रका सुक्खाग्रस्त ठाउँमा आकाशे पानी संकलन तथा वाटर लिफ्ट प्रविधि बिस्तार गर्ने, सडकले पुग्न बाँकी गाविसमा सडक बिस्तार, ओखलढुङगा र सिन्धुलीसँगको सहकार्यमा बृहत पर्यटक गुरुयोजना तर्जुमाको पहल गर्ने, ‘वृक्षारोपण समुन्नतीको उद्वोधन’ भन्ने नाराकासाथ खाली जग्गामा बृक्षारोपण, सिँचाईको पहुँच बिस्तार नभएका ठाउँमा सिँचाईको पहुँच बिस्तार, सार्वजनिक हितका लागि ‘मेरो पहिचान श्रमको सम्मान’ भन्ने नाराका साथ वर्षमा ३ दिन अनिवार्य श्रमदान गर्ने लगायतका नीति तथा कार्यक्रमहरु पारित गरेको छ ।
जिल्लामा हालसम्म चार सय १२ किलोमिटर सडकको ट्रयाक खोलिएको, ६४ गाविसमा सडक सुविधा बिस्तार भएको, एक सय ५६ वटा पुल निर्माण भएको, ७७ प्रतिशत नागरिकले खानेपानीको सुविधा पाएको, स्थानीय सडक सुधार कार्यक्रम अन्तरगत हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक सुधारको काम सुरु गरिएको, खानीडाँडा विमानस्थलमा कालोपत्रे, देविस्थान र माक्पामा दुई वटा लघुजलविद्युत आयोजनाको निर्माणको काम सुरु गरिएको, टुवा, साप्सु र रावा खोलामा चार वटा पक्की पुलहरु निर्माणाधिन अवस्थामा रहेको स्थानीय बिकास अधिकारी सापकोटाले जानकारी दिए ।

(नोट : हाम्रो खोटाङ डटकमबाट साभार) 

प्रतिक्रिया