Bisal Chautari Logo

आदिवासी जनजाति युवा महासंघको महाधिवेशन हुने

- ७ जेष्ठ २०७१, बुधबार ११:५६ मा प्रकाशित


nepal-news
काठमाडौं, २०७१, जेठ ७, बुधवार । ‘आदिबासी जनजाति युवाको साझा अभियान, अधिकार रोजगारीका लागि पहिचान सहितको संघीय संविधान’ भन्ने मूल नाराका साथ आदिबासी जनजाति युवा महासंघ, नेपालको तेस्रो महाधिवेशन पोखरामा हुने भएको छ । युवा महासंघले पत्रकार सम्मेलनको आयोजना गरि महाधिवेशनबारे जानकारी गराउँदैं जातीय पहिचान सहितको संघीयता, जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक समावेशकिरण, अल्पसंख्यक, सिमान्तकृत, सूचिउन्मुख जातिहरुको संरक्षण संम्बर्धन र अधिकार लगायतका माग राखेका छन् ।
पत्रकार सम्मेलनमा विज्ञप्ति सार्बजनिक गर्दै युवा महासंघले आदिबासी जनजातिसंग विभिन्न चरणमा भएका सहमति सम्झौताहरुको कार्यान्वयन गर्नुपर्ने, आदिबासी जनजातिका सवाललाई नयाँ बन्ने संविधानमा सुनिश्चित गर्नुपर्ने, आईएलओ १६९ र यूएनड्रिप २००७ को पूर्ण कार्यान्यवन गर्नुपर्ने माग गरेका छन् । यहि जेठ १७ र १८ गते पोखरामा हुन गईरहेको युवा महासंघको महाधिवेशनमा आवद्ध जातीय युवा संस्थाहरु र महासंघको मातहतमा रहेको जिल्ला समितिहरुबाट चार सय भन्दा बढि प्रतिनिधि र पर्यवेक्षकहरुको सहभागीता रहने युवा महासंघले जनाएको छ । महाधिवेशनबाट तीनवर्षे कार्यकालमा भएको सांगठनिक प्रगति प्रतिवेदन र आथिर्क सम्बन्धमा लेखाजोखा तथा समिक्षा गर्ने र भावि रणनीति, कार्यक्रम तथा नीतिहरुको निर्माण गर्दै आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । यसैबीच नेपाल आदिबासी जनजाति महासंघ शाखा हङकङ र आदिवासी जनजाति युवा संघको पहलमा संकलन भएको रकम प्रा.डा. ओम गुरुङ र नेता गोरेबहादुर खपाङगीको सहयोगार्थ हस्तान्तरण गरीएको छ । युवा महासंघले गुरुङ र खपाङगीलाई एक लाख ११ हजार ३ सय ५० रुपैयाका दरले रकम हस्तान्तरण गरेको हो । खपाङगी अन्नपूर्ण अस्पतालमा उपचाररत छन् भने प्रा.डा. गुरुङको मृगौला प्रत्यारोपण हालै सम्पन्न भएको हो ।

प्रतिक्रिया