Bisal Chautari Logo

‘किम्फ’मा नेपाली महिला निर्देशकको चलचित्रबाट उद्घाटन हुने

- १६ मंसिर २०७०, आईतवार १३:३६ मा प्रकाशित


काठमाडौ, १६ मंसिर । आगामी मंसिर २६ देखि ३० गतेसम्म हुन लागेको ‘काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ)’ २०१३ को उद्घाटन सहारा शर्माद्वारा निर्देशित नेपाली फिक्सन फिल्म चेजिङ रेन्बोजको ‘इन्द्रेणी खोज्दै जादा’ प्रदर्शनीबाट हुने भएको छ । काठमाडौमा आईतवार गरिएको एक प्रेसमिट कार्यक्रमको आयोजनामा सो बारेमा जानकारी गराईएको थियो ।
किम्फको उद्घाटनमा प्रर्दशन हुन लागेको फिल्मले आफ्नो सपना पूरा गर्न काठमाडौं आएका तीन दाजुबहिनीले झेलेका कष्ट र परीक्षालाई चित्रण गरेको बताईएको छ । ‘किम्फले विगत पाच वर्षदेखि ‘नेपाल पानोरामा’ अन्तर्गत नेपाली फिल्महरू प्रदर्शन गर्दै आएको छ । कार्यक्रममा बोल्दै फिल्म महोत्सवका अध्यक्ष वसन्त थापाले उद्घाटन नै नेपाली महिला निर्देशकको फिल्मबाट हुन लागेकोमा उत्साहित रहेको बताए ।
किम्फको समापन क्याप्टेन जोहन नोयलको फिल्म ‘द इपिक अफ एभरेस्ट’को विशेष प्रदर्शनीबाट गरिनेछ । यस फिल्मलाई ब्रिटिस फिल्म इन्स्टिच्युटले पुनरुद्धार गरी यसै साल बेलायतमा सार्वजनिक प्रदर्शन गरेको थियो । यस डकुमेन्ट्रीमा सन् १९२४ मा जर्ज म्यालोरी र एण्ड्रु इर्भिनद्वारा सगरमाथा आरोहण गर्दाका दृश्य र प्रसंग समावेश छन् । ती दुई आरोही सगरमाथाको चुचुरोमा पुगे कि पुगेनन् भन्ने बहसलाई फिल्मले फेरि ब्युताइदिएको छ । यस फिल्मको प्रदर्शनीलाई एडमन्ड हिलारी र तेन्जिङ नोर्गेको सन् १९५३ को सगरमाथा आरोहणको ६० औं वार्षिकीको रूपमा पनि लिन सकिन्छ । हिमाल एसोसिएसनले हरेक वर्ष गर्दै आएको किम्फमा विशेषगरी पर्वत, त्यहाका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्महरू प्रदर्शन गरिन्छन् । यसपालि २० देशका ४७ फिल्म डकुमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक फिल्म छनोट गरिएको छ । प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा हुने किम्फका फिल्महरूलाई अन्तर्राष्ट्रिय र नेपाल पानोरामा गरी दुई प्रतियोगितात्मक खण्डमा छुट्याइएको छ । साहसिक यात्रा, आरोहण, द्वन्द्व, संस्कृति, गरिबी, विकास, लैंगिकता, भूमण्डलीकरण र बसाइसराइ जस्ता विषयका फिल्म किम्फमा देखाइने छन् । ‘ह्वाई पोभर्टी’ शीर्षकमा युवा फिल्मकर्मीले बनाएका छोटा फिल्महरूको प्रतिस्पर्धा पनि किम्फको आकर्षणको रुपमा रहेको छ । स्टेप्स इन्टरन्यासनलको सहकार्यमा गरिन लागेको प्रतिस्पर्धाका उत्कृष्ट तीन विजेताहरूको नाम किम्फमै उद्घोष गरिनेछ र प्रतिस्पर्धी फिल्मकर्मीहरूलाई अन्तर्राष्ट्रिय फिल्मकर्मीले चलाउने कार्यशालामा भाग लिने अवसर दिइने आयोजकले बताएको छ । स्थानीय कला समूह ‘सत्य’ले उक्त कार्यशाला गर्नेछ । किम्फमा यसपालि तीन सदस्यीय अन्तर्राष्ट्रिय निर्णायक मण्डल (जुरी)ले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका विजेताहरूको छनोट गर्नेछ र विजेताहरूलाई क्रमश: १५००, १००० र ५०० अमेरिकी डलर पुरस्कार दिइनेछ ।
नेपाल पानोरामा सेक्सनमा उत्कृष्ट डकुमेन्ट्रीलाई २५ हजार र उत्कृष्ट फिक्सन फिल्मका लागि २५ हजार रुपैयाा पुरस्कार राशिको व्यवस्था गरिएको आयोजकले बताएको छ । त्यस्तै दर्शकहरूको मतका आधारमा कुनै एक फिल्मलाई अडियन्स अवार्ड पनि प्रदान गरिने बताइएको छ । विश्व वन्यजन्तु कोष–नेपाल डब्लुडब्लुएफको प्रायोजनमा किम्फअन्तर्गत यसपालि छुट्टै सहायक कार्यक्रमको रुपमा ‘वि आर अल कनेक्टेड’ सञ्चालन हुनेपनि आयोजकले जानकारी दिएका छन् । त्यस्तै हिमालय रेस्क्यु एसोसियनले किम्फको सहकार्यमा हिमालयमा हेलिकोप्टर उद्धार सम्बन्धी चुनौतीका विषयमा एउटा छmलफल कार्यक्रम पनि सञ्चालन गर्नेछ ।

प्रतिक्रिया