Bisal Chautari Logo

गीतकार चाम्लिङलाई आर्थिक सहयोग

- १० पुष २०७०, बुधबार १५:१४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, १० पुस ।
गीतकार टीका चाम्लिङलाई सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट संकलित सहयोग रकम हस्तान्तरण गरिएको छ ।
आगलागीको खबर फेसबुकमार्फत थाहा पाई स्वदेश तथा विभिन्न देशमा रहेका व्यक्तिहरूले उपलब्ध गराएको करिब ७२ हजार नगद मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा गीतकार चाम्लिङलाई हस्तान्तरण गरिएको हो । गत भदौ २ गते राति गीतकार चाम्लिङको खोटाङस्थित घरमा आमाको अन्तिम मृत्युसंस्कार गरिरहेको बेला आगलागी भएको थियो । उक्त खबर गीतकार शुभ मुकारुङ, नाट्यकर्मी प्रवीण पुमा र चन्द्रा चाम्लिङलगायतले फेसबुकमा पोस्ट गरेका थिए ।
‘टीकाजीको घरमा आगलागी भएको खबर फेसबुकमा पोस्ट गरेपछि सहयोग गर्ने हातहरु अघि बढे,’ गीतकार मुकारुङले भने, ‘त्यही क्रममा यति रकम जम्मा भएछ । आज वार्सेफार्से गरेका छौं ।’
चाम्लिङले आफूले सहयोगका लागि अपिल नगरेको उल्लेख गर्दै सहृदयी मनहरूबाट प्राप्त आर्थिक सहयोगलाई ‘सघाउनी’का रुपमा स्वीकार गरेको बताए । अमेरिका, बेलायत, अस्ट्रेलियालगायत विभिन्न मुलुकमा रहेका नेपालीले समेत उपलब्ध गराएको उक्त सहयोग रकम पत्रकार राजकुमार दिक्पालले हस्तान्तरण गरेका थिए ।
watch this video

प्रतिक्रिया