Bisal Chautari Logo

खोटाङको खानीडाडा विमानस्थलमा उडान पुन: सुचारु

- २ कार्तिक २०७१, आईतवार १७:३४ मा प्रकाशित


khotang khanidada airport
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, कात्तिक २ आइतबार । वर्षाका कारण अवरुद्ध भएको पाच महिनापछि खोटाङको खानीडाँडा विमानस्थलमा उडान सुचारु भएको छ । गत असार–१५ गतेदेखि अवरुद्ध भएको मनमायाँ राई खानीडाँडा विमानस्थलमा शनिबारदेखि नियमित उडान सुरु भएको हो ।khotang khanidada airport
वर्षाको भलबाढीले बनाएको खाल्डाखुल्डी पुर्नुका साथै मौषममा सुधार आएपछि नेपाल वायुसेवा निगमले नियमित उडान भर्न थालेको स्टेशन ईन्चार्ज यादवसेन राईले जानकारी दिनुभयो । राईका अनुसार हरेक हप्ताको मंगलबार र शनिबार काठमाठौं–खानीडाँडा–काठमाढौं र मंगलबार बिराटनगर–खानीडाँडा–बिराटनगरका लागि उडान हुनेछ ।
सदरमुकाम दिक्तेलदेखि सबैभन्दा नजिक रहेको खानीडाँडा विमानस्थलमा उडान सुरु भएपछि जिल्ला अस्पताल खोटाङबाट रेफर हुने बिरामीहरुका लागि सहज भएको छ । यसअघि अस्पतालले रेफर गरेका बिरामीलाई चर्को मुल्यमा हेलीकोप्टर चार्टर गरेर अन्यत्र लानुपर्ने बाध्यता थियो ।
कालोपत्रेको काम समेत हुँदै गरेको उक्त विमानस्थलमा कामलाई अवरोध नपुग्नेगरी उडान भर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जिल्लाबासीको समस्यालाई मध्यनजर गर्दै हप्ताको तीन पटक उडान राखिएको छ ।’ जिल्लामा लामीडाँडा, थामखर्क र खानीडाँडा विमानस्थल सञ्चालनमा छन् । यी मध्ये सबैभन्दा नजिक खानीडाँडा विमानस्थल रहेको छ । स्रोत : हाम्रो खोटाङ

प्रतिक्रिया