Bisal Chautari Logo

‘झिँगेदाउ २’ को टिजर सार्वजनिक

- २० श्रावण २०८३, बुधबार १८:०९ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८३ श्रावण २० बुधवार।
चलचित्र ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक भएको छ । ललितपुरको क्यूएफएक्स लबिममा एक कार्यक्रम आयोजना गर्दै टिजर सार्वजनिक गरिएको हो ।

१ मिनेट ५१ सेकेन्डको टिजरमा पारिवारिक सम्बन्धमा आउने उतारचढाव, देउरानी र जेठानीबीचको घर झगडाले स्थान पाएको छ । टिजरको सुरुमै हिउँवाला गौतम मध्यरातमा घर छोडेर हिँडेको देखाइएको छ र पछि परिवारका सदस्यहरू तिनै आमाको खोजीमा लागेको देखिन्छ ।

 निर्माण टिमले टिजरमा पहिलो भागकै झल्को दिने कथावस्तु तयार पारेको प्रष्ट हुन्छ । जसमा केही नयाँ ‘ट्वीस्ट’ पनि छ, जुन आर्यन सिग्देलको लुक्सले कौतुहलता थपेको छ । उनी साङ्लो बेरिएको अवस्थामा देखिएका छन् ।  जसले कथामा नयाँ मोड प्रस्तुत गर्ने अपेक्षा गर्न सकिन्छ ।

यो चलचित्र ‘झिँगेदाउ’ को सिक्वेल हो। सिनेमामा आँचल शर्मा र केकी अधिकारी देउरानी जेठानीको भूमिकामा छन् भने महेश त्रिपाठी र कुशल बिष्ट दाजुभाइको भूमिकामा देखिएका छन् ।  ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्रआगामी असोज २ गतेदेखि देशभर प्रदर्शन हुँदैछ ।

चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, सरोज खनाल, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभय राज बराल, उत्तम केसी, शिवहरि वैरागी, आशा भुषाल, रेन प्रधान, विनोद कुमार पौडेल, आशिष पुरुष, विष्णु सापकोटा र नरेन्द्र थापाले अभिनय गरेका छन् ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको चलचित्रको कथा गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन् । चलचित्रमा सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी गरेका छन् ।

कपनगढी चलचित्र र फिल्म क्रिउ नेपालको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा विष्णु घिमिरे ‘कल्पित’को डीओपी, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन निर्देशन रहेको छ । चलचित्रका प्रोडक्सन म्यानेजमेन्ट ईश्वर घिमिरेको छ । चलचित्र एप्पल इन्टरटेन्मेन्टले नेपालभर वितरण गर्दैछ ।
टिजर रिलिज कार्यक्रममा उपस्थिती अधिकांश फिल्मीकर्मीले मुक्तकण्ठले प्रशंसा गरेका थिए । पूर्ण रुपमा पारिवारिक कथावस्तुमा टिजर तयार भएको भन्दै यसले दर्शकको मन जित्ने विश्वास गरिएको छ । यसअघि फिल्म ‘झिंगे दाउ’ले बक्स अफिसमा सुपरहिटको व्यापार गरेको थियो । यसको सिक्वेलको रुपमा तयार भएको ‘झिंगे दाउ २’को टिजरले पनि दर्शकको मन जित्ने आशा गर्न सकिन्छ । 

प्रतिक्रिया