
बिशाल चौतारी समाचार
काठमाडौं, २०८३ श्रावण १७ आइतवार।‘मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६’ को भव्य ग्राण्ड फिनालेबाट बिपिशा भट्टराई र रोजी श्रेष्ठ विजेता बनेका छन्। समारी इन्टरनेशनलको आयोजना र बिहे सेवाको सहयोगमा सम्पन्न अविवाहित र विवाहित महिलाहरु बिचको सौन्दर्य प्रतियोगीता ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६’को ग्राण्ड फिनाले शनिबार साँझ राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको हो ।
नेपाली महिलाको नेतृत्व, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, महिला सशक्तीकरण तथा नेपालको कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस प्रतियोगीतामा मिस र मिसेस गरी २० जना बिच अन्तिम प्रतिस्पर्धा भएको थियो ।
देशभरबाट सहभागी भएका प्रतिभाशाली महिलाबीच विभिन्न प्रतिस्पर्धात्मक चरण, सांस्कृतिक प्रस्तुति, र्याम्प प्रस्तुति तथा विशेष कार्यक्रम सम्पन्न भएपछि निर्णायक मण्डलले उत्कृष्ट प्रतिस्पर्धीहरूलाई विभिन्न उपाधिबाट सम्मानित गरेको थियो।
प्रतियोगिताको ‘मिस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६’ को उपाधि बिपिशा भट्टराईले जितिन् भने नुमा फुङ सुब्बा प्रथम उपविजेता घोषित भइन्।
त्यसैगरी ‘मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६’ को ताज रोजी श्रेष्ठले जितिन्। कल्पना प्रसाई (कामना) प्रथम उपविजेता, सरिता राई द्वितीय उपविजेता, गम्भीर गंगा तृतीय उपविजेता तथा गीता देवी अर्याल चतुर्थ उपविजेता घोषित भए।
विशेष विधातर्फ कल्पना राईले पब्लिक च्वाइस उपाधि, तीर्था कुमारी मगरले भिवर्स च्वाइसउ उपाधि तथा हिमा कुमारी राजवंशीले म्यानेजमेन्ट च्वाइस उपाधि प्राप्त गरिन्।
यसै अवसरमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्वका लागि राधा न्यौपाने ढकाललाई ‘मिसेस एसिया इन्टरनेशनल नेपाल’ तथा दुर्गा देवी थापालाई ‘क्लासिक मिसेस एसिया इन्टरनेशनल नेपाल’ को उपाधि प्रदान गरिएको थियो।
प्रतियोगिताका सहभागीहरूले व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्वकला, र्याम्प वाक, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व, प्रतिभा प्रदर्शन तथा नेपालको मौलिक कला, संस्कृति र पर्यटन प्रवर्द्धनसम्बन्धी विभिन्न प्रशिक्षण तथा कार्यक्रमहरूमा सहभागिता जनाएका थिए।
आयोजकका अनुसार नवनिर्वाचित विजेताहरूले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गर्दै नेपाली महिलाको क्षमता, आत्मविश्वास, नेतृत्व र पहिचानलाई विश्वसामु स्थापित गर्नेछन् ।
कार्यक्रमका आयोजक समारी इन्टरनेशनल इभेन्ट प्रालिले प्रतियोगिताको सफल आयोजनामा सहयोग पुर्याउने मुख्य प्रायोजक बिहे सेवा, विभिन्न साझेदार संस्था, निर्णायक मण्डल, प्रशिक्षक, सञ्चारमाध्यम, स्वयंसेवक तथा सम्पूर्ण सहयोगी र शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ। समारी इन्टरनेशलका अध्यक्ष भरत समारीले दोस्रो सिजन भब्य र सब्य तरिकाले सम्पन्न भएको भन्दै अब छिट्टै तेस्रो सिजनको तयारीमा लाग्ने बताएका छन् ।
आयोजकको भनाइमा ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड – सिजन २’ केवल सौन्दर्य प्रतियोगिता मात्र नभई नेपाली महिलाको प्रतिभा, नेतृत्व क्षमता, आत्मविश्वास र सशक्तीकरणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्ने अभियानका रूपमा स्थापित हुँदै गएको छ।
प्रतिक्रिया