
बिशाल चौतारी समाचार
काठमाडौं, २०८३ जेष्ठ २६ मंगलवार। संगीत रोयल्टी संकलन समाज नेपालले आफ्नो स्थापना दिवसको अवसरमा आयोजित “१९ औं वार्षिकोत्सव तथा संगीत रोयल्टी वितरण कार्यक्रम” भव्य रूपमा सम्पन्न गरेको छ। नेपाल प्रज्ञा भवन, कमलादीमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष तथा वरिष्ठ संगीतकार सुरेश अधिकारीको अध्यक्षता र संस्थाका पूर्व अध्यक्ष तथा वरिष्ठ सर्जक श्रीपुरुष ढकालको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा टिकटक, यातायात, रेडियो, होटल तथा देश–विदेशबाट संकलित रोयल्टी गीतकार र संगीतकारहरूलाई वितरण गरिएको जनाइएको छ। प्रतिलिपि अधिकार ऐन २०५९ अन्तर्गत स्थापित समाजमा दर्ता भएका सिर्जनाका आधारमा मात्रै रोयल्टी उपलब्ध हुने भएकाले सदस्यता तथा गीत दर्ताको महत्वबारे विशेष जानकारी दिइएको थियो।
कार्यक्रममा अग्रज गीतकार, संगीतकार, गायक–गायिका, कलाकार तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। समाजले निकट भविष्यमा सदस्यहरूले आफ्नो रोयल्टी विवरण अनलाइनबाट हेर्न र रकम बैंक खातामा प्राप्त गर्न सक्ने व्यवस्था लागू गर्ने जनाएको छ।
प्रतिक्रिया