Bisal Chautari Logo

तेस्रो एकल लोक गायन प्रतियोगिता सम्पन्न, दिनेश परियारले जिते उपाधि

- २६ जेष्ठ २०८३, मंगलवार २१:३२ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८३ जेष्ठ २६ मंगलवार।
 
नेपाली लोक कला, संस्कृति तथा लोक संगीतको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यसहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितिद्वारा आयोजित “तेस्रो एकल लोक गायन प्रतियोगिता–२०८३” भव्य रूपमा सम्पन्न भएको छ।

ललितपुर समितिकी अध्यक्ष बेलिमाया पुलामीको अध्यक्षता तथा प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रीता थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लोक संगीत, सञ्चार र सांस्कृतिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतियोगितामा उपत्यका समन्वय समिति अन्तर्गतका १० वटा समितिका प्रतिनिधिहरूले प्रतिस्पर्धा गरेका थिए। कडा प्रतिस्पर्धाबीच चाबहिल समितिका दिनेश परियार प्रथम, अनामनगर समितिकी खुश्बु सुनार द्वितीय तथा ठमेल समितिका जिपी सुन्दास तृतीय घोषित भए। विजेताहरूले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

कार्यक्रमकै अवसरमा वरिष्ठ लोक गायिका शर्मिला गुरुङ लाई लोक संगीत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै ‘राष्ट्रिय लोक स्रष्टा सम्मान’ प्रदान गरिएको थियो। साथै ललितपुर समितिका सल्लाहकार, पूर्व अध्यक्ष, संरक्षक, कलाकार, पत्रकार तथा समाजसेवीहरूलाई पनि सम्मान गरिएको थियो।

प्रतियोगिताको निर्णायक संयोजकको जिम्मेवारी प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष राजु ढकाल ले निर्वाह गरेका थिए भने देबी घर्ती मगर, जुना श्रीष मगर, अर्जुन थापा मगर र रामकुमार नेपाली निर्णायक मण्डलमा रहेका थिए।

लोक गायन प्रतिभाको खोजी र प्रोत्साहनका लागि आयोजना गरिएको प्रतियोगिताले उपत्यकाभित्रका लोक कलाकारहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

प्रतिक्रिया