Bisal Chautari Logo

‘जेरी अन टप’को बुकिङ खुल्यो, हलहरूमा उच्च माग

- २८ आश्विन २०८२, मंगलवार २२:२६ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ असोज २८ मंगलवार।
युवा स्टारको ट्याग पाएका अभिनेता अनमोल केसी झण्डै डेढ वर्षपछि पर्दामा आउँदैछन् । अनमोल अभिनित फिल्म ‘जेरी अन टप’ यहि शुक्रबार (असोज ३१)बाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

प्रदर्शनको लागि तीन दिन बाँकी रहँदा केहि हलहरूले फिल्मको बुकिङ खुलाइसकेका छन् । एफक्यूव सिनेमाले सोमबार साँझ नै यो फिल्मको बुकिङ ओपन गरिसकेको छ । एफक्यूवले वेभसाइटमा ‘जेरी अन टप’को अग्रिम बुकिङ ओपन गरेको २४ घण्टा नबित्दै दर्शकबाट उच्च माग भएपछि शोज थप गरेको छ ।

सोमबार एफक्यूवले यो फिल्मलाई ५ शोज उपलब्ध गराएको थियो भने मंगलबार बिहान थप एक शोज प्लस गरेर ६ शोज बनाएको छ । यस्तै फिल्मको उच्च माग भएपछि विर्तामोडस्थित पाथिभरा हलले समेत सुरूमै शोज थपेको छ । ३ शोजबाट ४ शोज बनाएको छ ।

देशकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले हालसम्म बुकिङ ओपन गरेको छैन भने दोस्रो ठूलो चेन आइएनआइ सिनेमाले क्रमिक बुकिङ ओपन गर्दैछ भने आइप्लेक्स हलले कालिमाटीमा ५ शोज र बानेश्वरमा ७ शोज उपलब्ध गराइसकेको छ । 

फिल्मका वितरक करण श्रेष्ठले पछिल्लो एकवर्ष यता दर्शक र हलहरूबाट सर्वाधिक माग भएको फिल्म ‘जेरी अन टप’ रहेको बताए । दुईवटा हलमा मात्र बुकिङ खुल्दा नै फिल्मप्रति क्रेज आक्रामक देखियो, श्रेष्ठले भने, ‘बुधबार साँझसम्म देशभरका सबै हलमा बुकिङ खुलिसक्छ एफक्यूव र पाथिभराको सुरुवाती  प्रभाव अन्य हलहरूमा पनि पर्ने निश्चित छ ।’

सुयोग गुरुङको निर्देशनमा तयार यो फिल्ममा अनमोलको अपोजिटमा अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ अभिनयमा छन् । साथमा भेट्रान अभिनेता भुवन केसी, केदार घिमिरे, उषा खड्गी र सुरक्षा पन्त प्रमुख अभिनयमा छन्। अनन्या फिल्मस्’को ब्यानरमा तयार यो फिल्मलाई सरोज न्यौपानेले निर्माण गरेका हुन् । 

दुलिप रेग्मीको सिनेमाटोग्राफी रहेको फिल्म निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ, दीपक भण्डारी र भविस्य खड्काले साझेदारी गरेका छन् । फिल्मको कथा हेमराज बिसीको हो ।

प्रतिक्रिया