बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ असोज ६ सोमवार। यहि असोज ३१ गतेबाट दर्शकमाझ आउन लागेको फिल्म ‘जेरी अन टप’मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ । बडा दशैंको घटस्थापनाको अबसरमा निर्माण ब्यानर अनन्या फिल्मस्’ले सोमबार ‘कस्तूरी’ बोलको गीत युट्यूवमार्फत वर्ल्ड प्रिमियर गरेको हो ।
बुढासुब्बा डिजिटलबाट सार्वजनिक गीतमा अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्मा फिचर्ड छन् । मुस्ताङदेखि भारतको राजस्थानका विभिन्न रमणीय दृश्यहरू भिडियोमा कैद गरिएको छ । उच्च मेकिङ र कलरफूल देखिने भिडियोमा कोरियोग्राफी किरण थापाको छ ।
थापाले अनमोल र आँचललाई रोमान्टिक ‘लभ वर्ड’को रूपमा चित्रित गराएका छन् । गीतका शब्द र भिडियोमा समावेश दृश्यहरू प्रेमिल छन् । अनमोल र आँचलको केमिस्ट्रि आकर्षक देखिन्छ ।
आशिष गुवाजु र सदिक्षा कट्टेलको स्वर रहेको गीत संगीतकार जयन जे वाइबाले तयार गरेका हुन् । वाइबाकै शब्द र साउण्ड डिजाइन रहेको गीतमा अशोक थानेतको मिक्सिङ र मास्टरिङ छ ।
सुयोग गुरुङको निर्देशनमा तयार भएको ‘जेरी अन टप’मा अनमोल र आँचलसँगै अभिनेत्री जसीता गुरुङ, हाँस्य अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’, अभिनेता भुवन केसी र उषा खड्गी प्रमुख अभिनयमा छन् । अभिनेत्री सुरक्षा पन्तले यो फिल्ममा एक विशेष भुमिका निभाएकी छन् ।
सरोज न्यौपानेको प्रस्तुतिमा तयार यो फिल्मको निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले साझेदारी गरेका छन् । फिल्मको कथा हेमराज बिसीको हो ।
अनुराधा गिरी र इश्वर श्रेष्ठ फिल्मको कार्यकारी निर्माता रहँदा एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् । ‘जेरी अन टप’मा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ । विस्वास तिम्सिनाको पटकथा र दुलिप रेग्मीको छायांकन छ ।
यो फिल्मलाई रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् । फिल्म सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा आधारित छ ।
प्रतिक्रिया