Bisal Chautari Logo

‘माइतीघर’को शीर्ष गीत सार्वजनिक

- १२ भाद्र २०८२, बिहीबार २०:१९ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ भाद्र १२ बिहिवार।
रोहित अधिकारी फिल्मस् प्रा.लिको व्यानरमा निर्माण भएको फिल्म ‘माइतीघर’को शीर्ष गीत सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा सञ्जिवनीको स्वर छ । ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको गीतमा किरण खरेलको शब्द, स्वर्गीय जयदेवको संगीत छ ।
यो गीतको ओर्जिनल भर्सनमा गायिका आशा भोस्लेको स्वर समावेश थियो । ‘माइतीघर’ नामक पुरानो नेपाली फिल्मको बहुचर्चित गीतलाई निर्माता रोहित अधिकारी र उनको टिमले पुनः बजारमा ल्याएको हो । असोज १३ गते दशैंको फूलपातीबाट यो फिल्म रिलिजमा आउँदैछ ।

गीतको भिडियोमा नायिकाद्धय उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाले नृत्य गरेका छन् । मानकृष्ण महर्जन र सुशन प्रजापतिको छायांकन रहेको यो फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन छ ।
कविराज गहतराजले यो गीतको भिडियोको कोरियोग्राफी गरेका हुन् । भिडियोको कोरियोग्राफी लोभलाग्दो छ । लोकेशन र छायांकनपक्षले पनि दर्शकलाई आकर्षित गर्ने देखिन्छ । भिडियोमा हरेक शब्दले खोजेको लोकेशन छनोट गरिएको छ ।
मिलन तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा रबिन शेरचन र धिरज तामाङको लगानी छ । ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता रहेको फिल्ममा रामशरण पाठकको लेखन छ ।
यो फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरुको अभिनय छ । चन्द्रकुमार दोङको कथा रहेको फिल्मले दर्शकको माया पाउने विश्वास गरिएको छ ।
यो गीतको भिडियो प्रतियोगीताको समेत घोषणा भइसकेको छ । ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो बनाउनेमध्ये एक जना उत्कृष्ट दर्शकलाई ५ लाख नगद पुरस्कार दिने घोषणा फिल्मका प्रस्तुतकर्ता रोहित अधिकारीले गरिसकेका छन् । गीत सार्वजनिक भएसँगै अब दर्शकले भिडियो बनाउन सक्नेछन् ।

प्रतिक्रिया