बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ भाद्र ११ बुधवार। गहिरो बहस, तर्क र सशक्त संवादको वातावरण सिर्जना गर्ने उद्देश्यसहित नेपाली टेलिभिजन दर्शकमाझ चाँडै नै एक नयाँ कार्यक्रम आउन लागेको छ। मूनलाइट मोसन पिक्चर्सले प्रस्तुत गर्ने टेलिभिजन कार्यक्रम ‘कठघरा’ तिहार लगत्तै प्रसारण हुने भएको हो।
कार्यक्रमको पहिलो सिजनमा १८ वटा भाग रहनेछन्। ‘कठघरा’ नामले नै जनाएझैँ, यस कार्यक्रमले राजनीतिक, सामाजिक तथा कला क्षेत्रमा विशिष्ट योगदान र ख्याति कमाएका व्यक्तित्वलाई ‘कठघरा’मा उभ्याउनेछ। यहाँ पाहुनाहरूका जीवन, विचार, योगदान र विवादसम्मलाई खुलेर प्रस्तुत गरिनेछ। कार्यक्रमको उद्देश्य व्यक्तित्वका उपलब्धि मात्र नभई उनीहरूको सार्वजनिक जीवनसँग गाँसिएका प्रश्न र आलोचनाहरूसमेत निर्भीक ढङ्गले उजागर गर्नु हो।
यस कार्यक्रमलाई नेपाली सञ्चार जगतका दमदार हस्ती टीकाराम यात्रीले सञ्चालन गर्नेछन्। पत्रकार, टेलिभिजन प्रस्तोता तथा लेखकका रूपमा परिचित यात्री समसामयिक राजनीतिक तथा सामाजिक विषयमा आधारित कार्यक्रम सञ्चालनका लागि प्रसिद्ध छन्। सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका सवालमा धारिलो विचार प्रस्तुत गर्दै आएका उनले यसअघि पनि लोकप्रिय टक शोहरू सञ्चालन गरिसकेका छन्। विश्लेषणात्मक प्रस्तुतिका कारण उनलाई नेपाली पत्रकारितामा एक बौद्धिक अनुहारका रूपमा लिइन्छ।
कार्यक्रमको निर्देशन भने नेपाली मनोरञ्जन क्षेत्रका बहुमुखी निर्देशक अमन प्रताप अधिकारीले गर्नेछन्। ‘हिमालय रोडिज’, ‘को बन्छ करोडपति’, ‘ऐना’, ‘कृपा अनप्लग्ड’ जस्ता चर्चित कार्यक्रम निर्देशन गरेर ख्याति कमाएका अधिकारी पछिल्लो समय कविता रियालिटी शो ‘पोएट आइडल’ का निर्देशकका रूपमा सक्रिय छन्। टेलिभिजन मात्र होइन, उनी पूर्व ए डिभिजन फुटबल खेलाडी तथा कमेन्टेटरसमेत हुन्। स्कटल्यान्डको एडिनबर्ग कलेजबाट फिल्ममेकिङ र टेलिभिजन प्रोडक्सनमा डिप्लोमा गरेका अधिकारी प्रख्यात कवि तथा गीतकार क्षेत्रप्रताप अधिकारीका सुपुत्र हुन्।
कार्यक्रमका निर्माता सन्तोष भण्डारी रहेका छन्। उनले यो कार्यक्रमलाई दर्शकसम्म शक्तिशाली प्रस्तुतिका साथ पुर्याउने विश्वास व्यक्त गरेका छन्। ‘कठघरा’ एपि वन टेलिभिजनमार्फत प्रसारण हुनेछ भने यसको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।
प्रतिक्रिया