Bisal Chautari Logo

चलचित्र ‘कोशेढुंगा’मा यति धेरै विदेशी कलाकारको अभिनय, २० जना पाकिस्तानी कलाकार

- १० भाद्र २०८२, मंगलवार १८:४८ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ भाद्र १० मंगलवार ।
चलचित्र ‘कोशेढुंगा’मा ठूलो संख्यामा विदेशी कलाकारको अभिनय रहेको छ । नेपालीसँगै विदेशी कलाकारको पनि अभिनय रहेको हो ।

चलचित्र ‘कोशेढुंगा’मा २० जना पाकिस्तानी कलाकारको अभिनय रहेको छ । पाकिस्तानीसँगै यो चलचित्रमा केन्याका कलाकारको पनि अभिनय रहेको छ ।
विदेशी भूमिको कथा सिनेमामा जोडिएकाले विदेशका कलाकारलाई निर्माणपक्षले अभिनय गराएको हो । नेपाल बोलाएर मंहगो रकम खर्च गरेर ‘कोशेढुंगा’का निर्माताले विदेशी कलाकारलाई अभिनय गराएका हुन् । तर, निर्माण पक्षले अहिलेसम्म विदेशी कलाकार सार्वजनिक गरेको छैन् ।
विदेशी भूमिको सेट बनाएर निर्माण टिमले विदेशी कलाकारलाई अभिनय गराएको हो । “हामीले विदेशी कलाकार कथाले मागेपछि कम्प्रमाइज गरेनौँ,” निर्देशक सरोज पौडेलले भने, “सिनेमालाई राम्रो कसरी बनाउने भन्नेमा हामीले कुनै पनि कसर बाँकी राखेका छैनौँ । दर्जनौँ विदेशी कलाकारलाई नेपाल बोलाएर काम गराउन त्यति सहज छैन । तर, पनि हामीले यो काम गर्‍यौँ ।”

दर्शकले विदेशी कलाकार किन झिकाउनु पर्‍यो र अभिनय गराउनु पर्‍यो त्यो सिनेमा हेरेपछि महसुस गर्ने निर्देशक पौडेलले बताए । आफ्नो टिमले राम्रो सिनेमा बनाउन कुनै कुरामा सम्झौता नगरेको उनको दाबी छ । “सम्भवत नेपालमा छायांकन भएका कुनै पनि चलचित्रमा यति धेरै विदेशी कलाकारको अभिनय छैन होला,” उनले भने ।

सरोज पौडेलको निर्देशन रहेको चलचित्र ‘कोशेढुंगा’ भदौ १२ गते रिलिज हुँदै छ । यो सिनेमा अहिले पोस्ट प्रोडक्सनमा छ । ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलको निर्देशन रहेको यो चलचित्र ‘कोशेढुंगा’को छायांकन स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा गरिएको छ । ललितपुरको च्यासलस्थित सेटमा पनि छायांकन गरिएको छ ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्र ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउवाला गौतम, सिर्जना अधिकारी, शेखर चापागाई, दिनेश काफ्ले, सिरु विष्ट, स्नेहा जोशी, सुबलमणि सापकोटा, सविता रेग्मीलगायतको अभिनय रहेको छ । सिनेमाको लिडमा सुरक्षा पन्त छिन् ।

चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठले छायांकन गरिरहेको यो चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गरिरहेका छन् । यस चलचित्रको गीतमा रिदम कँडेल र आशिष अविरलको संगीत रहने छ । कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।

प्रतिक्रिया