बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ भाद्र ९ सोमवार। असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को प्रतिक्षित फिल्म ‘जेरी अन टप’ को टिजर सार्वजनिक भएको छ । निर्माण ब्यानर अनन्या फिल्मस्’ले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको पहिलो चल प्रचार सामग्री रिलिज गर्यो ।
कार्यक्रममा प्रमुख कलाकारहरू अभिनेता अनमोल केसी, अभिनेत्रीद्वय आँचल शर्मा र जसीता गुरुङसँगै हास्य अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’, अभिनेता भुवन केसी, उषा खड्गी मिडियाको केन्द्रमा रहे । निर्देशक सुयोग गुरुङले सम्पूर्ण टिमको अथक मेहनतको नतिजा दर्शकसामु ल्याउन लागेको भन्दै साथको अपेक्षा राखे।
सार्वजनिक १ मिनेट ५२ सेकेण्ड लामो टिजरले फिल्मको कथावस्तुलाई खुलाउने प्रयास गरेको देखिन्छ । सुयोग गुरुङ निर्देशित यो फिल्मको कथावस्तु विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा केन्द्रीत छ ।
सरोज न्यौपानेको प्रस्तुतिमा तयार फिल्म ‘जेरी अन टप’को निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले लगानिमा साझेदारी गरेका छन् । यो फिल्मको कथा हेमराज बिसीको हो ।
फिल्मको कार्यकारी निर्मातामा अनुराधा गिरी र इश्वर श्रेष्ठ रहँदा एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् । ‘जेरी अन टप’मा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ । विस्वास तिम्सिनाको पटकथा रहँदा दुलिप रेग्मीको छायांकन छ ।
हङकङको एलजी एसोसिएट्सले यो फिल्मको (अष्ट्रेलियाबाहेक) अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको छ भने नेपालमा रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण अधिकार लिएका छन् । महंगो लागतमा तयार यो फिल्मलाई यो वर्षको प्रतिक्षित फिल्म मानिएको छ ।
तस्वीर: सुरेन्द्र थापा
प्रतिक्रिया