Bisal Chautari Logo

कोशेढुंगा’को प्रचारमा व्यस्त कलाकारः कलेज डुल्दै विद्यार्थी भेट्दै आर्यन, सुरक्षा र मञ्जिल

- ८ भाद्र २०८२, आईतवार १९:४२ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ भाद्र ८ आइतवार।
रिलिज मिति नजिकिदै गर्दा फिल्म ‘कोशेढुंगा’को कलाकारहरु प्रचारमा व्यस्त देखिएका छन् । नायक आर्यन सिग्देल, नायिका सुरक्षा पन्त, नव नायक मञ्जिल कुमार र निर्देशक सरोज पौडेल काठमाडौँमा कलेजमा पुगेर फिल्मको प्रचार गरेका छन् । कलाकारको टिमले आइतबार विहान एसटी ल्वोरेन्स कलेज, भिएस कलेज र टेक्सस कलेज पुगेर विद्यार्थीलाई भेटेका छन् । उनीहरुले फिल्मको प्रचार मात्रै गरेनन् । फिल्मको हिट नम्बर ‘नत्र भने जीन्दगी’ गाएर नाच्नै भ्याए । आर्यन र सुरक्षाले आफैँले गीत गाएर विद्यार्थी नचाए भने उनीहरु सँगै नाचे पनि । विद्यार्थीको भीड छिचोल्न उनीहरुलाई मुस्किल परेको थियो । नवनायक मञ्जिल कुमार कोशेढुंगा जिन्दावादको नारा लगाउदै थिए भने सुरक्षालाई अटोग्राफ दिन र सेल्फी खिच्न भ्याइ नभ्याइ थियो । फिल्मका लेखक तथा निर्देशक सरोज पौडेलले ‘पूर्ण बहादुरको सारंगी’लाई भुलाउने कथामा फिल्म निर्देशन गरेको दाबी गरे । उनले भने, दर्शकलाई मन पर्ने कथामा फिल्म बनेको छ । भदौँ १२ मा हलमै भेटौँ । कलाकार त्रय आर्यन, सुरक्षा र मञ्जिलले भदौँ १२ मा फिल्म हेर्न निम्तो दिए । विद्यार्थीको भीडले फिल्म यूनिटको निम्तो स्विकार गरेका छन् । किर्तिमानी निर्देशक पौडेल निर्देशित फिल्म कोशेढुंगालाई नरदेवी फिल्मसले प्रस्तुत गरेको हो। यस फिल्ममा सुरक्षा पन्त, मन्जिल कुमार, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ। चलचित्रको निर्मातामा प्रेबिल कँडेल र किशोर अनुराग छन्। कार्यकारी निर्माता दिनेश खड्का हुन्। यो फिल्म ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुँदैछ। ‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ। यो चलचित्र डायस्पोरामा नेपाली सिनेमाकै इतिहासमा पहिलो पटक एकसाथ ४२ देशमा प्रदर्शनमा आउने जनाएको छ।

प्रतिक्रिया