Bisal Chautari Logo

‘रिमै’को ट्रेलर सार्वजनिक, दयाहाङ राई र रिश्मा गुरुङको प्रेममा अर्पण थापा भिलेन

- ८ भाद्र २०८२, आईतवार १७:५६ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ भाद्र ८ आइतवार।
खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘रिमै’को ट्रेलर सार्वजनिक गरिएको छ । यो सिनेमाको ट्रेलरले गाउँले जीवन, प्रेम, संघर्ष र सामाजिक यथार्थलाई प्रस्ट्याएको छ ।

करीब साढे तीन मिनेट लामो ट्रेलरमा दयाहाङ राईलाई ग्रामीण परिवेशमा देखाइएको छ, जहाँ उनी आफ्नो प्रेम र परिवारबीचको संघर्षसँग जुधिरहेका छन् । रिश्मा गुरुङसँगको केमिस्ट्रीले ट्रेलरलाई भावुक बनाएको छ भने अर्पण थापा र गौमाया गुरुङको भूमिकाले कथालाई अझ रोचक बनाएको छ ।

निर्देशक गुरुङले ‘रिमै’मा परम्परा, संस्कार र आधुनिक जीवनशैलीबीचको टकरावलाई प्रस्तुत गर्ने संकेत ट्रेलरमार्फत दिएका छन् । संवाद, छायांकन र ब्याग्राउण्ड म्युजिकले दर्शकलाई गाउँले परिवेशमा तानेको छ । यसअघि सार्वजनिक पोस्टर र टिजरले नै चर्चा कमाइसकेको ‘रिमै’ ट्रेलरले पनि दर्शकमाझ उत्साह जगाएको छ ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमामा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ ।

कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन् । सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ ।

प्रतिक्रिया