Bisal Chautari Logo

शनिबार ‘माग्ने राजा’को आक्रामक व्यापार

- ७ भाद्र २०८२, शनिबार १७:४९ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ भाद्र ७ शनिवार।
निर्माण घोषणादेखि नै चर्चामा रहेको चलचित्र ‘माग्ने राजा’ले अपेक्षाअनुरुप नै हलमा दर्शक फर्काएको छ । शुक्रबार बिहानीको सोमा औसत दर्शक पाएको चलचित्रले मध्यान्नको समयदेखि हाउसफुल दर्शकको साथ पाएको थियो । शुक्रबार मध्यान्न यताको लयलाई कायम राख्दै चलचित्रले शनिबार भने बिहानैदेखि हाउसफुलको व्यापार गर्न सफल भएको थियो ।

सिनेमाले आक्रामक व्यापार गरेपछि निर्देशक ऋषि लामिछाने ‘माग्ने राजा’का मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटीलाई लिएर काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् । सिनेमाको निर्माण टिम हल पुग्दा ‘माग्ने राजा’ हेरेका अधिकांश दर्शकले सिनेमाले दिएको सन्देश निकै मन परेको प्रतिक्रिया दिइरहेका छन् ।

सिनेमाका मुख्य अभिनेता केदार घिमिरे (माग्ने बुढा)लाई दर्शकले जुरुक्कै बोकेर ‘माग्ने राजा’ भन्दै नाराबाजी समेत गर्ने गरेका छन् । जसले गर्दा दर्शकमाझ उनको क्रेज कति छ भन्ने जो कोहीले सजिलै अनुमान गर्न सक्छन् । सिनेमाका मुख्य अभिनेता केदार घिमिरे पनि आफु भुइामान्छेलाई दर्शकको यस्तो आर्शिवादले उत्साहित बनाएको बताउँछन् । त्यससँगै आगामी दिनमा अझै राम्रो सिनेमामा काम गर्नु पर्ने चुनौती थपिएको उनको बुझाई छ । 

चलचित्र वितरक रोहितकुमार कट्टेलका अनुसार ‘माग्ने राजा’ले ‘उनको स्वेटर’पछि इनिसियल दर्शक पाएको हो । कट्टेलले चलचित्रले सदाबहार दर्शक पाउने पहिलो श्रेणीका हलमा मात्र होइन चाडबाडमा मात्र हाउसफुल व्यापार गर्ने हलमा पनि हाउसफुलको व्यापार गरेको बताएका छन् । उनले तीजको मुख्य बिदा बाँकी नै रहेकाले चलचित्रले आकर्षक कमाइ गर्ने अपेक्षा व्यक्त गरे ।

‘पछिल्लो समय वैशाखमा प्रदर्शन भएको ऊनको स्वेटरले सुरुवातदेखि नै राम्रो व्यापार गरेको थियो । त्यसपछिको राम्रो व्यापार माग्ने राजाकै मान्नुपर्छ । अझ यो चलचित्रले मंगलबारपछि आक्रामक कमाइ गर्ने मेरो अनुमान छ,’ कट्टेलले भने । मंगलबार तीजको बिदा रहेको र चलचित्रका महिला दर्शक त्यसपछि फुर्सद हुने हुनाले यसको फाइदा चलचित्रलाई पुग्ने उनको तर्क छ ।

निर्देशक ऋषि लामिछाने पनि तीज पछि चलचित्रका दर्शक थप बढ्ने विश्वासमा छन् । अहिले हलमा महिला दर्शकको उपस्थिति पातलो रहेको र तीजपछि यसमा बढोत्तरी हुने बताउँछन् । ‘मुखैमा तीज रहेकाले महिला दर्शक अझै हलमा आउन भ्याउनु भएको छैन भन्ने लागिरहेको छ । परिवार नै बसेर हेर्न मिल्ने चलचित्र रहेकाले तीजपछि हलमा पारिवारिक माहोल अझ बढ्ने विश्वास छ,’ लामिछानेले भने ।

मुनाल घिमिरेको निर्माण रहेको चलचित्रले मनोरञ्जन र सन्देशलाई सुन्तुलित हिसाबले प्रस्तुत गरेको भन्दै दर्शकले प्रशंसा गरेका छन् । छक्का पञ्जा सिरिज बाहिर आएर पहिलो पल्ट सोलो अभिनेताको रुपमा चलचित्रलाई हाँकेका केदार घिमिरेको कमेडीलाई दर्शकले भरपुर रुचाएको प्रतिक्रिया दिएका छन् । चलचित्रमा वर्षा सिवाकोटी , विल्सनविक्रम राई, शारदा गिरी र शिशिर वाङदेलले पनि केदार घिमिरेको यात्रालाई मज्जाले साथ दिएका छन् ।

प्रतिक्रिया