बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ भाद्र ७ शनिवार। चलचित्र ‘कोशेढुंगा’को नयाँ गीत ‘हे बरै’ सार्वजनिक भएको छ । झलकमान गन्धर्वको गीत ‘के बरै’लाई पुनः स्वरांकन गर्दै निर्माण पक्षले चलचित्रमा समावेश गरेको हो । परदेशिएको छोरो परिबन्धमा परेर घर फर्किन नसक्ने अवस्था चित्रण गरिएको यो मार्मिक गीतमा अहिले आशिष अविरलको स्वर सुन्न सकिन्छ । नेपाली लोक संगीतका लिजेन्ड झलकमानलाई समर्पित गर्दै यो गीत पुनः स्वरांकन गर्दै चलचित्रमा राखिएको हो ।
परिवारको दुःख हटाउन परदेश गएको परिवारको मुख्य सदस्य दुष्मनको घेरमा परेपछि जिन्दगीको अन्तिम घडीमा परिवारलाई कसरी संबोधन गर्दै बिदा माग्छ, यो गीतमा समेटिएको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार छन् । मुकुन भुसाल सारंगी बजाउँदै हिँड्ने क्यारेक्टरमा छन् ।
मुकुनको पात्रलाई ‘पूर्ण बहादुरको सारङ्गी’को वीरेको क्यारेक्टरबाट लिएको छ । वीरेको गेटअपमा मुकुनलाई देख्न सकिन्छ । उनले गाडीमा यो गीत बजाइरहँदा निकै मार्मिक र भावनात्मक माहोल सिर्जना हुन्छ । साथमा बालकलाकारमा अर्नव खड्का देखिएका छन् । सरोज पौडेलको निर्देशन रहेको चलचित्र ‘कोशेढुंगा’ भदौ १२ गते रिलिज हुँदैछ । ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलको निर्देशन रहेको चलचित्रलाई नरदेवी फिल्मसले प्रस्तुत् गरेको हो ।
चलचित्र ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, मन्जिल कुमार, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ । चलचित्रको निर्मातामा प्रेबिल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा नहकुल खड्काको सम्पादन, आशिष अविरल, खेम सेन्चुरी र रिदम कँडेलको संगीत छ । चलचित्रको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।
नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुँदैछ । ‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ । यो चलचित्र डायस्पोरामा नेपाली सिनेमाकै इतिहासमा पहिलो पटक एकसाथ ४२ देशमा प्रदर्शनमा आउने जनाएको छ । पहिलो पटक यति धेरै देशमा एकसाथ चलचित्र प्रदर्शन हुँदा ‘कोशेढुंगा’ले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ दिने अपेक्षा निर्माण टिमको छ ।
प्रतिक्रिया