बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ श्रावण २० मंगलवार। गत वर्षको असोज ३ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापामगर नयाँ सिनेमा ‘जलाकी’ निर्माण गर्दैछन् । यो सिनेमाको गत चैत्रमा केही दिन छायांकन समेत भैसकेको छ । अब असोज २१ गतेबाट यो सिनेमाको दोस्रो चरणको छायांकन तयारी चलिरहेको छ ।
गत असार ३० गते चलचित्र विकास बोर्ड हरेक वर्ष वितरण गर्ने राष्ट्रिय चलचित्र पुरस्कारमा ‘खुस्मा’बाट अभिनेत्री उपासना सिंह ठकुरीले उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत जितेकी छन् । ‘जलाकी’मा पनि उपासनाको मुख्य भूमिका रहनेछ । उनले यो सिनेमामा अभिनेता धिरज मगर र सोनम तोप्देनसँग स्क्रिन सेयर गर्दैछिन् । ‘खुस्मा’मा पनि उनको जोडी धिरज मगरसँग नै बाँधिएको थियो । त्यसैले पनि यो जोडीको ‘जलाकी’ दर्शकको प्रतिक्षामा रहने देखिन्छ ।
सोमबार यो सिनेमाबाट अभिनेता धिरज मगर र उपासना सिंह ठकुरीलाई प्रस्तुत गर्दै दुई पोस्टर समेत रिलिज गरिएको छ । सिनेमाको सार्वजनिक पोस्टरलाई ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले डिजाइन गरेका हुन् । यो सिनेमाबाट मिस सिक्किम साहारा हाङमा लिम्बुले नेपाली रजतपटमा डेव्यु गर्दैछिन् ।
त्रिकोणात्मक प्रेम कथामा आधारित शिल्पा मस्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) रहेका छन् । अन्य कलाकारहरुको छनौट कार्य भैइरहेको निर्माण टिमले जानकारी दिएको छ ।
‘जलाकी’ मगर समुदायको आस्थाको प्रतिकको रुपमा मानिने ढुङगाले चिनेको स्तम्भलाई बुझाउँछ । कसैको सम्झना र मायाको प्रतिकको रुपमा मानिने यो सिनेमाको छायांकन पहिलो, दोश्रो र तेश्रो गरि तिन चरणमा रहने कुरा सिनेमाका निर्देशक अशोक थापा मगरले बताए ।
रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ, पोखराका विभिन्न भु-भाग र दक्षिण कोरियामा समेत छायांकन गरिने यो सिनेमाले मगर र गुरुङ समुदायको सँस्कृतीलाई झल्काउने छ । सिनेमाका निर्माताहरुमा ओम घर्ति मगर, बिर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।
एम मिडिया प्रालीको व्यानरमा निर्माण हुन लागेका सिनेमाको डिओपीमा शैलेन्द्र डी कार्की, लाइन प्रोडुसरमा राजु रेग्मी मगर र मुख्य सहायक निर्देशकमा महेश बराल तथा एसडी योगी र सरित राईको संगीत अनि सुरेन्द्र राना र राम अविरल विष्टको गीत रचना रहनेछ ।
निर्देशक अशोक थापा मगरको डेव्यु निर्देशकिय सिनेमा ‘खुस्मा’ समावेश गीत ‘रुकुम मैकोट’ले युटुबमा पाँच महिनामा दश करोड भ्युज पाउने पहिलो ऐतिहासिक रेकर्ड राख्न समेत सफल भएको थियो ।
प्रतिक्रिया