बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ आषाढ २८ शनिवार । ‘वर्ल्ड अफ डान्स नेपाल’को पहिलो संस्करणमा विजयी तीन समूहले दुबईमा हुने ‘वर्ल्ड सुप्रिमेसी ब्याटलग्राउन्ड २०२५’ मा सहभागिता जनाउने भएका छन् । दुबईमा हुन लागेको अन्तर्राष्ट्रिय स्तरको नृत्य प्रतियोगिता ‘वर्ल्ड सुप्रिमेसी ब्याटलग्राउन्डमा २०२५’ मा नेपालको प्रतिनिधित्व गर्दै ‘द ब्रेभ गोर्खा’, ’क्रिएटर्स क्रू’ र ’एनडीए क्रू’ सहभागी हुन लागेका हुन् । विश्वभरका उत्कृष्ट ५० नृत्य समूहबीच प्रतियोगितामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा अमेरिका, जर्मनी, यूएई, न्युजिल्यान्ड, अष्ट्रेलिया, भारत, घाना, फिलिपिन्स, टोंगा, दक्षिण अफ्रिका, जिम्बाब्वेसहितका देशबाट प्रतिनिधित्व गर्ने नृत्य समूहहरु पनि सहभागी हुँदैछन् । पहिलोपटक अन्तर्राष्ट्रिय खुला नृत्य प्रतियोगिताका लागि नेपाली समूह पनि छनोट भएकाले यसलाई महत्वका साथ हेरिएको छ ।
भोलि शनिबार र आइतबार दुबईमा हुने प्रतियोगिताका लागि नेपाली समूह यूएई पुगिसकेको वर्ल्ड अफ डान्स नेपालका डाइरेक्टर रोशन गहतराजले जानकारी दिए । नेपाली टोलीको नेतृत्व निर्देशक गहतराज र क्रियटिभ डाइरेक्टर जेडी तमूले गरिरहेका छन् । प्रतियोगितापछि नेपाली नृत्य क्षेत्रमा अन्तर्राष्ट्रिय पहुँच र अनुभव थपिने विश्वास गरिएको छ । ‘नेपालका युवा नृत्य समूहले अन्तर्राष्ट्रिय मञ्चमा देखाउने प्रस्तुति सिंगो मुलुकको सांस्कृतिक पहिचान र क्षमताको प्रतीक हुनेछ’, क्रियटिभ डाइरेक्टर तमूले भने ।
प्रतिक्रिया