बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ आषाढ २४ मंगलवार। पहिलो चरणको छायांकन सम्पन्न गरेको ‘बाटुलो जुन’ मा नव-कलाकार स्नेहा भट्टराई पनि रहेकी छन् । यो फिल्मको कलाकारहरुमा पहिलो चरणको छायांकन अगाडी अनमोल केसी र प्रिन्सी खतिवडाको मात्रै नाम खुलाईएको थियो । छायांकन पश्चात भट्टराई पनि रहेको खुलेको हो । उनको यो दोश्रो फिल्म हो । फिल्म ‘मोदीबेनी’ बाट फिल्मी अभिनयमा होमिएकी भट्टराईले ‘बाटुलो जुन’ मा सेकेन्ड लीड क्यारेक्टर सम्हालेकी छन् ।
अर्थात् उनी सहायक अभिनेत्रीको रुपमा ‘बाटुलो जुन’ मार्फत देखिने भएकी हुन् । हाल फिल्मको पहिलो चरण छायांकन सकिएसँगै स्नेहाको पनि केही भाग छायांकन सम्पन्न भएको छ । अब बाँकी छायांकन भने भदौमा हुनेछ । सो बेला उनको अन्य भागको सुटिङ हुने जनाइएको छ । अडिसन मार्फत आफ्नो अभिनय मन परेर अनि फिल्मको क्यारेक्टरमा आफू सुहाउने भएकोले निर्माण युनिटको रोजाईमा परेको स्नेहाले परीकला न्यूजलाई जानकारी गराईन् ।
आफूले पनि सो क्यारेक्टरलाई न्याय दिन सक्दो प्रयास गरेको र सो रोलप्रती आशावादी रहेको बताईन् । ‘मोदीबेनी’मा उनको अभिनयलाई रुचाईएको थियो । यो फिल्म ‘बाटुलो जुन’लाई भुवन केसीले निर्देशन गर्दैछन् भने निर्मातामा जिया केसी रहेकी छन् । अर्थात् यो केसी परिवारको होम प्रोडक्सन फिल्म हो । फिल्म सनराइज पिक्चर्सको व्यानरमा निर्माण हुँदैछ भने यसै वर्षको अन्त्यसम्म रिलिज गर्ने योजना निर्माण टीमको रहेको छ ।
को हुन् “बाटुलो जुन”की स्नेहा भट्टराई ?
कोशी प्रदेशको मुटुको रुपमा परिचीत इटहरीकि चेली हुन् स्नेहा । उनले आफ्नो सपना पुरा गर्ने यात्रा सौन्दर्य प्रतियोगिताबाट सुरु गरिन् । उमेरले १७ वर्ष टेक्दैगर्दा स्नेहाले इटहरीमा आयोजना भएको ‘मिस कलेज नेशनल-२०१७’मा सहभागी भईन् । उक्त सौन्दर्य प्रतियोगितामा फर्स्ट रनरअप हुँदै अन्तर्राष्ट्रिय भ्रमणको अवसर पाएसंगै कला क्षेत्र प्रवेशको लागी बाटो खुलेको बताउछिन् ।
यसरी हेर्दा उनले कला यात्राको सुरुआत गरेको ८ वर्ष भैसकेको छ । उनको पहिलो म्युजिक भिडियो ‘बिहानी’ हो । ६ वर्षअघि सार्वजनिक उक्त गीतलाई प्रन्जल पोख्रेलले गाएका थिए । त्यसपछि उनले ‘नौडाँडा पारी’, ‘खोला जस्तो जिन्दगी’ जस्ता गीतहरूमा अभिनय गरेकी छन् ।
यस्तै उनले ‘मिसयुज’ नामक लघुचलचित्रमा समेत अभिनय गरेकी छन् । स्नेहाले मुकुन भुसालसंग १ महिनाको अभिनय प्रशिक्षण लिएकी थिइन् । अभिनयलाई नै आफ्नो करियर बनाएकी उनले मेघा टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रुपमा पनि केही समय काम गरेको अनुभव छ भने हालसम्म झण्डै ३५ ओटा कमर्सियल टेलिभिजन बिज्ञापनमा समेत अभिनय गरिसकेकी छन् ।
प्रतिक्रिया