Bisal Chautari Logo

भदौ ६ गते प्रदर्शन मिति घोषणा गर्दै ‘माग्ने राजा’को फर्स्टलुक सार्वजनिक

- ६ असार २०८२, शुक्रबार २२:०० मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ आषाढ ६ शुक्रवार।
ऋषि लामिछानेको निर्देशनमा निर्माण गरिएको सिनेमा ‘माग्ने राजा’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार प्रज्ञा डबलीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको पोस्टर सार्वजनिक तथा प्रदर्शन मिति घोषणा गरिएको हो ।

यो सिनेमा आगामी भदौ ६ गतेबाट विश्वव्यापी प्रदर्शनमा ल्याउने जानकारी दिइएको छ । सिनेमाका सार्वजनिक दुई पोस्टर मध्ये एउटामा अभिनेता केदार घिमिरे (माग्ने बुढा) कुर्सीमा पैसासहित राजकिय अवतारमा प्रस्तुत गरिएको छ । अर्को पोस्टरमा सिनेमाका तीन मुख्य कलाकार केदार घिमिरे, वर्षा सिवाकोटी र विल्सन विक्रम राईलाई स्थान दिइएको छ ।

यो सिनेमाबाट निर्देशक ऋषि लामिछाने ८ वर्षपछि निर्देशनमा कमव्याक गर्दैछन् । निर्देशक लामिछानेले ‘माग्ने राजा’ले अहिले अवस्थामा आफैलाई राजाको रुपमा प्रस्तुत गर्ने युवापुस्ताको कथा देखाउने बताए । यो सिनेमाका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे पनि ‘इच्छा’ रिलिजको लामो समयपछि निर्माणमा फर्केका हुन् । उनी हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत हुन् ।

निर्देश लामिछाने र निर्माता घिमिरेबीच यो तेस्रो पटक सहकार्य गरेका हुन् । उनीहरुले निर्माण सहकार्य गरेका दुई सिनेमा ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान्-श्रीमती’ बक्सअफिसमा सुपरहिट भएका थिए । निर्देशक लामिछाने आफुहरुको तेस्रो सहकार्य पनि सुपरहिट हुने दाबी सिनेमाको पोस्टर सार्वजनिक तथा प्रदर्शन मिति घोषणा कार्यक्रममा गरे ।

आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा केदार घिमिरे (माग्ने बुढा), वर्षा सिवाकोटी, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मोडल पवित्रा साकी उर्फ मिस पबीको अभिनय छ । यो सिनेमामा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ ।

आरआर फिल्मस्ले वितरण गर्ने सिनेमामा नरेन्द्र मैनालीको छायांकन, सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ ।

प्रतिक्रिया