Bisal Chautari Logo

वैदेशिक रोजगारीको पीडादायी कथा बोकेको ‘रियाल रिङ्गेट’ साउन १६ गते रिलिज हुने

- २४ जेष्ठ २०८२, शुक्रबार २३:३९ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं,२०८२ जेष्ठ २३ शुक्रवार।
 
वैदेशिक रोजगारीका लागि बिदेसिने नेपाली युवाहरूको सपना, सङ्घर्ष र बिछोडको मार्मिक कथामा आधारित चलचित्र ‘रियाल रिङ्गेट’ आगामी साउन १६ गतेबाट प्रदर्शनमा आउने भएको छ । रेबेल फिल्म्सले शुक्रवार एक पोस्टर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति घोषणा गरेको हो ।

विभोर पोखरेलले निर्देशन गरेको यस चलचित्रका निर्माता गगनलाल प्रधान हुन् । निर्देशक पोखरेलले हजारौँ म्युजिक भिडियो निर्देशनको अनुभव सँगालेका छन् भने निर्माता प्रधान दशकौँदेखि गीत सङ्गीत निर्माणमा सक्रिय छन् । चलचित्रको लेखन प्रदीप भारद्वाजले गरेका हुन् ।

चलचित्रको नाम नेपालीहरू मजदुरी गर्न जाने देशहरू कतार तथा साउदी अरेबियाको करेन्सी ‘रियाल’ र मलेसियाको करेन्सी ‘रिङ्गेट’लाई मिसाएर बनाइएको छ । यसको पोस्टरमा भावनात्मक गहिराइ झल्काइएको छ । पोस्टरको ट्यागलाइनमा लेखिएको छ, “जब त्रिभुवन विमानस्थलबाट जहाज उड्यो, जहाजसँगै सपना र जिन्दगी उड्यो ।” यो ट्यागलाइनले चलचित्रको समग्र मर्मलाई एक वाक्यमा समेटेको छ, जसले सपनाभित्र लुकेको दुःख, शोषण, परायापन र कहिलेकाहीँ मृत्युजस्ता कठोर यथार्थलाई चित्रण गर्छ । यो छोटो कविता कवि नाथन रायनले लेखेका हुन् ।

पोस्टरको माथिल्लो भागमा देखिएकी महिला पात्रको अनुहारमा पीडा, अपुरो आशा र शून्यता देखिन्छ । पोस्टरको बीच भागमा विभिन्न सामाजिक पृष्ठभूमिका पात्रहरूलाई प्रस्तुत गरिएको छ, जसले गरिबीले थिचिएका र अनगिन्ती सपना बोकेर बिदेसिएका नेपाली युवा शक्तिको प्रतिनिधित्व गर्छन् । 

पृष्ठभूमिमा प्रवासी मुलुकको सहरका विशाल गगनचुम्बी भवनहरूले मलेसिया, कतार वा युएईजस्ता खाडी मुलुकहरूको सङ्केत गर्छ, जहाँ हजारौँ नेपालीहरू रियाल वा रिङ्गेटको सपना बोकेर पुगेका छन् । पोस्टरले नै यी सपनाभित्र लुकेका कठोर यथार्थलाई चलचित्रले उजागर गर्ने सङ्केत गर्छ ।

चलचित्रमा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, बिमला गिरीलगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी रहेको छ ।

‘रियाल रिङ्गेट’ का गीतहरूमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको सङ्गीत रहेको छ । सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वर रहेका यी गीतका शब्द अमर न्यौपाने, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीले लेखेका हुन् ।

यो चलचित्रको छायाङ्कन भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा गरिएको छ । चलचित्रलाई काफिया फिल्म्सले वितरण गर्दैछ ।

प्रतिक्रिया