बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ जेष्ठ ५ सोमवार। नायिका दिव्या रायमाझीले नेपाली फिल्म क्षेत्रका दुई एक्सन नायकहरुसँग पर्दा शेयर गर्ने भएकी छिन् । दिव्याले फिल्म ‘राम नाम सत्य’ साइन गरेसँगै यो संभव भएको हो ।
माइकल चन्दको निर्देशनमा बन्न लागेको फिल्म ‘राम नाम सत्य’मा दिव्या फाइनल भएकी छिन् । दिव्या र फिल्मको टिमबिच आइतबार कागजी संझौता भइसकेको छ ।
फिल्म साइन गरेपछि दिव्याले भनिन्–‘यो फिल्मको कथा वेजोड छ । मेरो भूमिका पनि निकै मन पर्यो । जसकाकारण, फिल्ममा काम गर्न तयार भएकी हुँ ।’
यो फिल्ममा यसअघि नै नायक विराज भट्ट र सुशील श्रेष्ठ फाइनल भइसकेका छन् । विराज र सुशीलसँग काम गर्न पाउँदा आफू उत्साहित रहेको दिव्याको भनाई छ ।
फिल्मको छायांकन साउनबाट सुरु गर्ने योजना निर्माणपक्षको छ । माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा तयार हुन लागेको यो फिल्ममा माइकल चन्दकै लेखन छ । उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङ फिल्मका निर्माता हुन् । फिल्ममा डाक्टर डीआर उपाध्याय र नरेन्द्र शाह कार्यकारी निर्माताको रुपमा छन् । अर्जुन पोखरेल र वावुल गिरीको संगीत रहने फिल्ममा सुशन प्रजापतिको छायांकन रहने पक्का भइसकेको छ ।
अब, केही कलाकारहरु फाइनल गरेर वर्कशप सुरु गर्ने निर्माणपक्षको भनाई छ । फिल्मलाई एक्सन, पारिवारिक, प्रेम र सस्पेन्स कथामा निर्माण गर्न लागिएको छ ।
फिल्म ‘एक्टरः टेक वान’बाट रजतपटमा डेब्यू गरेकी दिव्याको पछिल्लो रिलिज फिल्म ‘पिताम्बर’ हो । दिव्या पछिल्लो पुस्ताकी सर्वाधिक माग भएकी नायिका समेत हुन् ।
प्रतिक्रिया