Bisal Chautari Logo

ट्रेलरसँगै बढ्यो ‘नरसिंहाः अवतार’को विदेश माग, अष्ट्रेलिया अधिकार विक्री

- २ जेष्ठ २०८२, बिहीबार ११:२३ मा प्रकाशित



बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ जेष्ठ १ बिहिवार।
जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’को ट्रेलर सार्वजनिक भएपछि यसको हाइप ह्वात्तै बढेको छ ।
फिल्मको ट्रेलरले हाइप बनाएसँगै नेपाली बजारमा त यसको प्रतिक्षा छ नै, विदेशी बजारमा पनि माग चुलिएको छ । फिल्मका लेखक तथा निर्देशक दिवाकर भट्टराइले विदेशबाट फिल्मको माग उच्च भएको भन्दै विभिन्न देशका लागि कुराकानी भइरहेको बताए ।
यसैबिच, नेपाली फिल्मका लागि सबैभन्दा ठूलो बजार मानिएको अष्ट्रेलियामा यो फिल्मको रिलिज अधिकार विक्री भएको छ ।
यो फिल्मको अष्ट्रेलिया विक्री अधिकार बीआई इभेन्ट्सले खरिद गरेको हो । फिल्मलाई कति रकममा अष्ट्रेलियामा रहेको बीआई इभेन्ट्सले खरिद गर्यो भन्ने निर्माणपक्षले खुलाएको छैन । बीआई इभेन्ट्सकी वर्षा इटानीले भनिन्–‘महानायक राजेश हमालको क्रेज र फिल्मको चर्चा अष्ट्रेलियामा खुबै छ । यसैले, दर्शकहरुको मागलाई ध्यानमा राखेर हामीले यो फिल्मको अष्ट्रेलिया अधिकार खरिद गरेका हौं । आशा छ, फिल्मले अष्ट्रेलियाका दर्शकहरुको मन जित्नेछ ।’ वर्षा ‘भ्वाइस अफ नेपाल’मा सहभागी भइसकेकी गायिका समेत हुन् ।
वर्षाले नेपालमा रिलिज भएको केही समयमै अष्ट्रेलियामा फिल्म रिलिज हुने बताइन् । नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानीमा तयार भएको यो फिल्ममा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ । फिल्मले बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । 

प्रतिक्रिया