बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ बैशाख ३० मंगलवार। गायक हसन राईको ‘नायुमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शशि गुरुङको शब्द तथा संगीत रहेको गीतमा हसनको स्वर रहेको छ । लुङ्टो क्रियशनको प्रस्तुती रहेको गीतलाई देबेश राईले एरेञ्ज गरेका छन् । अमर सृष्टा विक्रम राई प्रति समर्पित म्युजिक भिडियोलाई लुङ्टो क्रियशन अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
किरातहरुको सभ्यतामा आधारित गीतमा युवा पुस्तामाझ चर्चित निर्देशक राजेश पुमा राईले निर्देशन गरेका छन् । म्युजिक भिडियोलाई किरात राईहरुको विवाह संस्कारमा आधारित रहेर निर्माण गरिएको छ । म्युजिक भिडियोमा चर्चित अभिनेत्री एलिशा राई, मोडल गणेशमान घले र चर्चित कमेडियन उमेश राई (फुलन्देकी आमा) को अभिनय देख्न सकिन्छ । साथै म्युजिक भिडियोमा क्रमश, प्रकाश लिम्बु, शिशम वान्तावा राई, दोस्तिहाङ राई, महेन्द्र राई, खेमराज राई, हाङ्सामा लिम्बु लगायत कलाकारहरुको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोमा देखाए अनुसार बिबाहमा सोल्टी सोल्टिनी बिचको प्रेमभावलाई देखाइएको छ । एलिशा र गणेशमानको जोडी जमेको छ ।
यस म्युजिक भिडियोमा हरि हुमागाईको डिओपी रहेको छ, भने उत्तम हुमागाईको सिनेमाटोग्राफी रहेको छ । यस म्युजिक भिडियोलाई बिकाश दाहालले इडिट गरेका छन्, भने सुम्निमा कलेक्सनको पहिरण रहेको छ ।
गायक हसनले अहिले सम्म करिव २ दर्जन बढी गीतहरु रेकर्ड गरिसकेका छन् । आधा दर्जन गीतको म्युजिक भिडियोमा मोड्लिङ समेत गरिसकेका हसनले यो गीतमा दर्शकहरुको माया पाउनेमा ढुक्क रहेको बताए । साङ्गीतिक क्षेत्रमा केहि फरक गीतहरु मार्फत दर्शकमाझ आफु प्रस्तुत भइरहनेपनि हसनले बताए । धरान सुरसाझ कलाकेन्द्र, अलंकार म्युजिक एकेडेमीमा बिनोद प्रियदर्शीसंग संगीत सिकेका हसन पाश्र्व गायनमापनि मोह राख्छन् ।
प्रतिक्रिया