बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ बैशाख २७ शनिवार। हिजो शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले उत्साहजनक ओपनिङ गरेको छ । चलचित्र रिलिजको पहिलो दिन देशभरका हलहरूमा दर्शकको उल्लेखनीय चाप देखिएको थियो । काठमाडौं उपत्यकादेखि पूर्व–पश्चिमका मल्टिप्लेक्सदेखि सिङ्गल स्क्रिन हलहरूसम्म अधिकांश शोमा उल्लेखनीय उपस्थिति देखिएको वितरकले जनाएका छन् ।
शुक्रवार बिहानैदेखि सुरु भएको दर्शकको यो चाप राती अबेरसम्म कायम रह्यो । अधिकांश हलहरूमा प्रायः शोहरू हाउसफुल भएका थिए । कलाकारहरूले पनि उपत्यकाका विभिन्न हलहरूमा पुगेर दर्शकसँग भेटघाट गरेका थिए र प्रतिक्रियाका लागि धन्यवाद व्यक्त गरेका थिए ।
पहिलो दिनको सफलता देखेर देशभरका धेरै हलहरूले शनिवारका लागि शो सङ्ख्या बढाएका छन् । शनिवार बिहानैदेखि अधिकांश हलहरू हाउसफुल देखिएको वितरक गोविन्द शाहीले जानकारी दिए । उनका अनुसार चलचित्र हाल ३०० भन्दा बढी हलमा प्रदर्शन भइरहेको छ ।
दर्शकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाइरहेको चलचित्र ‘ऊनको स्वीटर’लाई शुक्रवार र शनिवारको कलेक्सन एकैसाथ सार्वजनिक गरिने बताइएको छ । पहिले नै प्रिमियर शोमा विशिष्ट अतिथि तथा आम दर्शकबाट प्रशंसा बटुलिसकेको यो चलचित्रले नेपाली समाज, संस्कृति र प्रेमकथालाई समेट्ने प्रयास गरेको छ ।
नवीन चौहानले निर्देशन गरेको यो चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेललगायतको अभिनय छ । गीत, ट्रेलर र टिजरमार्फत उत्सुकता जगाइसकेको ‘ऊनको स्वीटर’ले दोस्रो दिनको बिहानै देखिएको दर्शकको साथबाट बक्स अफिसमा अझ सशक्त यात्राको सङ्केत दिएको छ ।
प्रतिक्रिया