Bisal Chautari Logo

चलचित्र ‘झिल्को’ रिलिज, बिहीबारको प्रिमियरमा हरेक अभिभावकले बच्चासहित हेर्नुपर्ने सुझाव

- १९ बैशाख २०८२, शुक्रबार १९:३६ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ बैशाख १९ शुक्रवार।
 
डिजिटल कुलतले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने असरलाई समेटेको नेपाली चलचित्र ‘झिल्को’ बिहीबार साँझ ग्रान्ड प्रिमियरसँगै सार्वजनिक प्रदर्शनमा आएको छ । वितरण कम्पनी डिसिएनले उपलब्ध गराएको तथ्याङ्क अनुसार, चलचित्र आज देशभर ११६ शोमार्फत प्रदर्शनमा आएको छ ।

काठमाडौंमा सम्पन्न प्रिमियरमा उपसभामुख इन्दिरा राना मगरको विशेष उपस्थिति रह्यो । उनले चलचित्रले उठाएको विषयवस्तु अत्यन्तै महत्त्वपूर्ण रहेको भन्दै ‘झिल्को’ हरेक व्यक्तिको लागि यो चलचित्र एउटा सिकाइ रहेको धारणा राखिन् । “हरेक अभिभावकले आफ्ना बालबालिकासहित हेर्नुपर्ने चलचित्र हो । गाउँपालिका, नगरपालिका तथा अन्य सरकारहरूले यो चलचित्रलाई विशेष चलचित्रको रूपमा सबैलाई देखाउने अभियान चाल्नुपर्छ,” उपसभामुख राना मगरले भनिन् ।

प्रिमियर कार्यक्रममा पत्रकार, चलचित्रकर्मी, मनोविज्ञान परामर्शदाता, बाल चिकित्सक तथा बालबालिकाको हितमा क्रियाशील अभियन्ताहरूको उल्लेखनीय उपस्थिति थियो । चिकित्सक र परामर्शदाताहरूले बालबालिकाको मनोविज्ञान र समग्र विकासमा प्रविधिको लतले पारेको असरलाई बुझाउन चलचित्रले ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

‘झिल्को’ले बालबालिकामा स्मार्टफोनको कुलत, अभिभावकीय बेवास्ता, र डिजिटल कुलतले पारेको पारिवारिक विखण्डनजस्ता विषयवस्तुलाई प्रस्तुत गरेको छ । बालिकाको मुख्य भूमिकामा आयुषी ढकालले अभिनय गरेकी छन् भने साथमा सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

यसअघि ‘झोला’ निर्देशन गरेका यादवकुमार भट्टराईद्वारा निर्देशित यो चलचित्र मिडिया फर कल्चर प्रा.लि. को ब्यानरमा निर्माण गरिएको हो । चलचित्रको छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, साउन्ड तथा कलर श्याम कुँवर, र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका हुन् । पटकथा यादवकुमार भट्टराई, अरुणदेव जोशी र देव व्रतको सहकार्यमा तयार भएको हो ।

चलचित्रका कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन् । चलचित्र जनता टिभीको सहकार्यमा निर्माण गरिएको हो ।

प्रतिक्रिया