Bisal Chautari Logo

मुख्य तीन दलको प्रस्ताव साना दलहरुबाट अवरुद्ध

- १७ माघ २०७०, शुक्रबार ०३:३७ मा प्रकाशित


पत्रपत्रिका समाचार
काठमाडौ, १७ माघ ।
अघिल्लो संविधानसभामा भएका सहमतिको स्वामित्व लिन संविधानसभामा प्रस्ताव लैजाने कांग्रेस, एमाले र एमाओवादीको प्रयास बुधबार अवरुद्ध भएको छ ।
राप्रपा नेपाल र राष्ट्रिय जनमोर्चा नेपालसहितका साना दलहरले अलग–अलग विषयमा गरेको तीव्र विरोधका कारण तीन दलले उक्त प्रस्तावलाई तत्काल संविधानसभाको कार्यसूची बनाउन सकेनन् । बिहीबार कान्तिपुर दैनिकमा प्रकाशित समाचार अनुसार उनीहरुले संविधानसभाको बुधबारको बैठकमा यस्तो प्रस्ताव लैजान खोजेका थिए । अधिकांश दल उक्त प्रस्तावप्रति सहमत भए पनि प्रक्रिया पुर्‍याउन बुधबार पेस नगरिएको एमाले नेता वामदेव गौतमले बताए । पहिलो संविधानसभाको स्वामित्व र संघीयताजस्ता महत्वपूर्ण राजनीतिक मुद्धामा आफ्नै पाटीका नवनिर्वाचित सभासदहरले समेत अलग–अलग धारणा राख्न सक्ने आँकलन गर्दै तीन दलले विगतका सहमतिको स्वामित्व लिइहाल्न खोजेका हुन् । राप्रपा नेपालले व्यवस्थापिका संसद्को पहिलो बैठकमै विगतको सहमति मान्य नहुने भनी दिएको चेतावनीलाई पनि जवाफ दिने तीन दलको तयारी थियो । तीन दलमध्ये कांग्रेस–एमालेका शीर्ष नेताहरले हस्ताक्षर गरी एमाओवादी नेताले हस्ताक्षर गर्न बाँकी रहेको ‘जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव’ को मस्यौदा देखेपछि साना दलहर चिढिएका थिए । संविधानसभामा संसद्को जस्तो जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत हुने अभ्यास छैन ।
गणतन्त्र कार्यान्वयनप्रति नै आपत्ति जनाउँदै आएको राप्रपा नेपालले पहिलो संविधानसभाको स्वामित्व ग्रहणको प्रस्ताव नल्याउन चेतावनी दिँदै आएको छ । लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको राष्ट्िरय जनमोर्चाले संघीयताको प्रश्नमा यस्तै अडान राखेको थियो । संविधानसभा बाहिर तीन दलले तयार गरेको मस्यौदा स्वीकार्य नहुने भन्दै अर साना दलहरले तीव्र विरोध गरेपछि तीन दललाई अप्ठ्यारो परेको हो । ‘कतिपयलाई आफ्नो हैसियत देखाउनुपर्छ भन्ने पनि लागेको होला,’ एमाले नेता गौतमले भने, ‘एउटा अक्षर मेट्ने, थप्ने कुरा पनि उठेका छन् ।’ लोकतन्त्रमा छलफलको प्रक्रियालाई आफूहरुले सम्मान गरेको उनको भनाइ छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने विगतका विषयलाई जबर्जस्ती ल्याएर संविधानसभाको गरिमालाई सामाप्त पार्न खोजिएको आरोप लगाए ।

प्रतिक्रिया