बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ श्रावन १ मंगलवार । आगामी साउन ११ गतेबाट रिलिज हुने चलचित्र ‘ईश्वर’ले पोखरामा सोमबार पत्रकार सम्मेलन गर्दै चलचित्र बारे जानकारी दिएको छ । कार्यक्रममा चलचित्रका कलाकार माओत्से गुरुङले चलचित्रका निर्माता ध्रुव थापा आफ्नो साथी रहेकाले उनको चलचित्र प्रतिको मोहलाई अहिले आएर ‘ईश्वर’मा पुरा गरेको बताए ।
राजु गिरी निर्देशित चलचित्र दर्शकले मनपराउनेमा कलाकार माओत्से आशावादी छन् । चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा चलचित्र निर्माता हरिबहादुर थापा पनि उपस्थित थिए । उनले चलचित्रमा पहिलो पहिलोपटक लगानी गरेको बताए । चलचित्र राम्रो बनेको दाबी गर्दै उनले वर्षमा दुईटा नभए एउटासम्म चलचित्र निर्माण गर्ने योजना रहेको सुनाए । उनका अनुसार चलचित्रमा करिब १ करोड ८० लाख लगानी लागेको छ।
कास्कीको माछापुच्छे् गाउँपालिका याङ्जाकोटमा सुटिङ भएको चलचित्र खासगरी अन्तरजातीय प्रेमकथामा आधारित रहेको निर्माण पक्षले बताएको छ ।
‘अन्याय र अत्याचारको विरुद्धमा लाग्ने एक जना इन्स्पेक्टरको कथा हो,’ कलाकार माओत्सेले भने । चलचित्रकी नायिका कृस्टि गुरुङको लागि नेपाली चलचित्रमा यो डेब्यु हो । त्यसो त उनले पहिले नै गुरुङ चलचित्र खेलिसकेकी छन् । ‘फिल्ममा कति धेरै दुःख गरियो । संघर्ष गरियो,’ उनले भनिन्, ‘सबैको आ–आफ्नो कथा हुन्छ । सबैजनाले मेरो अभिनयलाई मन पराइदिनुहुन्छ भन्ने आशा गर्दछु ।’
सेनामा दुई दशक सेवापछि पोखरा चाउथेका हरिबहादुर थापा नितान्त नौलो चलचित्र क्षेत्रमा हाम फालेका हुन् । उनी भन्छन्, ‘यो मेरो आगमन होभन्दा पनि एउटा राम्रो चलचित्रको आगमन हो ।’
अर्की कलाकार कुविना गुरुङले चलचित्रको कथाबारे बोल्दै आफ्नो जातीय परम्पराअनुसार मामाको छोरी, फूपूको छोराबीच नै विवाह हुनुपर्छ भन्ने नभई उनीहरुले चाहेको खुसी अनुसार विहे गर्न सक्ने बताइन् ।
चलचित्र पत्रकार संघ नेपाल कास्की अध्यक्ष प्रभू अधिकारीले पोखरेलीले यति ठूलो रकम चलचित्रमा लगानी गरेको भन्दै चलचित्र हेरेर साथ दिन आग्रह गरे । उनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संघ सहसचिव शंकर तिवारीले गरेका थिए ।
चलचित्रमा माओत्से गुरुङ, ध्रुव थापा, कृस्टि गुरुङका अलावा सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सविन बास्तोला, पृथ्वीराज प्रसाई, रवीन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङलगायतका कलाकारको अभिनय छ ।
दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ । चलचित्रको प्रस्तुतकर्ता लक्ष्मी कुँवर हुन् । चलचित्रमा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी छ । रामेश्वर हुमागाईंको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।
प्रतिक्रिया