बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ आषाढ २९ शनिवार । अभिनेता खगेन्द्र लामिछानेलाई जन्मदिनको अवसरमा नयाँ चलचित्र उपहार मिलेको छ । खगेन्द्रको जन्मदिनको अवसर पारेर चलचित्र ‘के घर के डेराः घर नम्बर २’मा निर्माणपक्षले अनुवन्धित गरेको हो ।
दीपेन्द्र के खनालको निर्देशनमा तयार हुने यो चलचित्रलाई साउनको २५ गतेबाट छायांकनमा लैजाने तयारी गरिएको छ । निर्माणपक्षले अब चलचित्रको प्रि–प्रोडक्शनको कामलाई तिव्रता दिने बताएको छ । जसअनुसार, चलचित्रको मुख्य भूमिकामा खगेन्द्रलाई फाइनल गरिएको हो ।
चलचित्रमा काम गर्ने पक्का भएपछि खगेन्द्र उत्साहित देखिए । उनले, एउटा राम्रो टिम र राम्रो कथामा काम गर्न पाउँदा खुशी लागेको तर्क गरे ।
ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा अन्य कलाकारहरु एकपछि अर्को रुपमा फाइनल गर्दै जाने निर्माणपक्षले बताएको छ ।
यो चलचित्रमा चर्चित लेखक बुद्धिसागरको लेखन छ । चलचित्रमा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माताको रुपमा छन् ।
यस्तै, चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् । चलचित्रलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने पक्का भएको छ । सामाजिक कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने तयारी गरिएको निर्देशक खनालले बताए ।
प्रतिक्रिया