Bisal Chautari Logo

चलचित्र ‘माइली’ मा कुसुम शर्मा अनुबन्धित

- ३० असार २०८१, शनिबार १२:५३ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, 
२०८१ आषाढ २९ शनिवार 
 रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने चलचित्र ‘माइली’ मा मोडल कुसुम शर्मा अनुबन्धित भएकी छिन। बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने चलचित्रमा कुसुमले अभिनय गर्न लागेकी हुन् । मोडल कुसुम गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’बाट चर्चामा आएकी हुन् ।

चलचित्र युनिटले कुसुमको पोस्टरलुक पनि सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरलुकमा उनलाई कालो चस्मामा गम्भीर भावमा देखाइएको छ । उनको पृष्ठभूमिमा एक महिलाले केही काम गरिरहेको देख्न सकिन्छ ।
कुसुमको अनुबन्धसँगै चलचित्रका लागि कलाकारको लाइनअप पुरा भएको छ । यसअघि चलचित्रमा प्रियंका कार्की, करिश्मा मानन्धर, कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन अनुबन्धित भइसकेका छन् ।

निर्देशक बलामीले सत्य घटनामा आधारित हुने भनिएको चलचित्रमा महिलाको पीडा देखाइने बताए । ‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउछ ? उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यहि समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा चलचित्रमा देखाइनेछ’, निर्देशक बलामीले भने ।

असारको अन्तिमबाट छायांकन गरिने फिल्म मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिनेछ ।
चलचित्र शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, सम्बाद तथा राजेन्द्र बजगाइको संगीत रहनेछ ।

प्रतिक्रिया