Bisal Chautari Logo

‘ज्वाइँ साब’मा ‘जिरे खुर्सानी’का ‘जिरे’ अर्थात इशान अनुबन्धित

- २२ जेष्ठ २०८१, मंगलवार २०:३५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८१ जेष्ठ २२ मंगलवार ।
 मकवानपुरको चित्लाङमा छायांकन भइरहेको चलचित्र ‘ज्वाइँ साब’मा कलाकार इशान राउत पनि जोडिएका छन् । हाँस्य सिरियल ‘जिरे खुर्सानी’मा बाल–कलाकारको रुपमा अभिनय गरेपछि इशानको चर्चा निकै चुलिए । आम दर्शकले उनलाई ‘जिरे’ उपनामले समेत चिनेका थिए ।

तर, उनी लामो समयदेखि मिडियामा देखिएका थिएनन् । अब उनी बसन्त निरौलाको निर्देशनमा तयार भइरहेको चलचित्र ‘ज्वाइँ साब’मा देखिदैछन् ।

रोचक कुरा त के छ भने, यो चलचित्रको शिर्ष भूमिकामा जीतु नेपालले अभिनय गरिरहेका छन् । जीतुले नै निर्देशन गरेको ‘जिरे खुर्सानी’बाट इशान स्थापित भएका थिए । बाल–कलाकारको रुपमा स्थापित भएका इशान अब ठूलो भइसकेका छन् ।

उनको चलचित्रमा कस्तो भूमिका रहनेछ भन्ने बिषयमा निर्माणपक्षले केही पनि खुलाएको छैन । तर, चलचित्रमा उनलाई र जितु नेपाललाई एकसाथ देख्दा दर्शकको ध्यान पक्कै पनि तानिनेछ ।

२० दिन चित्लाङमा खिचेर यसको निर्माणपक्ष सौराहा र इलाम पुग्नेछ । चलचित्रमा जितुको जोडीको रुपमा नीति शाहले अभिनय गरिरहेकी छिन् ।

राजकुमार पण्डितको प्रस्तुतिमा तयार भइरहेको यो चलचित्रलाई तिहारमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।

यो चलचित्रमा वुद्दि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, प्रकाश घिमिरे, निमा पाण्डे लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रमा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहनेछ ।

बिजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रमा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।

प्रतिक्रिया