Bisal Chautari Logo

चलचित्र ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक

- १० जेष्ठ २०८१, बिहीबार १७:३५ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ जेष्ठ १० बिहिवार।
 दयाहाङ राई अभिनित चलचित्र ‘गाउँ आएको बाटो’को अर्थपूर्ण र मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलर बाबुछोराको स्नेही सम्बन्धको दृश्यबाट सुरु हुन्छ । भोजपुरको राई परिवारको खुसी त्यतिबेला संकटमा पर्छ, जतिबेला गाउँमा मोटर आइपुग्छ । मोटरसँगै आउने लाहुरे, उनीहरुले ल्याउने उपहार र त्यसले यो आदिवासी परिवारमा आउने उतारचढावको कथा ट्रेलरले पेश गर्छ ।

छोरा बिन्द्रे (प्रसन राई) र उसको बाबु माइला (दयाहाङ) वरपर कथा घुम्छ । सडकसँगै आउने स्मार्टफोन, सनग्लास, टेलिभिजन, हिपहप संगीतले गाउँको मानवीय सम्बन्ध र सोचाइमा ल्याउने परिवर्तनको कथा यसमा छ ।

ट्रेलरमा दयाहाङ र छोराको भूमिकामा देखिएका प्रसनको अभिनय अब्बल महसुस हुन्छ । पशुपति राई दयाहाङकी पत्नीको रोलमा छिन् । पत्रकार सम्मेलनमा निर्देशक सुब्बाले दयाहाङ राई सुरुमा आफूहरुको छनोट नरहेको बताए ।

‘उहाँको स्टारडम देखेर हामीले नन–एक्टर लिएर काम गर्ने सोच बनाएका थियौं । तर यो भूमिका गर्न उहाँको पनि इच्छा र राई समुदायकै एक्टर भएकाले पनि उहाँलाई कास्ट गरेका हौं,’ सुब्बाले भने ।

दयाहाङले फेस्टिभल सर्किटबाट प्राप्त प्रतिक्रियाले आफूहरुलाई उत्साहित बनाएको बताए । राई समुदायको कथावस्तुमा बनेको यो पहिलो फिल्मलाई दयाहाङले करिअरकै उत्कृष्टमध्येको फिल्मको रुपमा बताउँदै आएका छन् ।

यो चलचित्रलाई नवीन सुब्बाले निर्देशन गरेका हुन् भने आमोद राईले निर्माण गरेका हुन् । रामबाबु गुरुङको बाँसुरी फिल्म्स र निर्देशक सुब्बाको मेन्छायम पिक्चर्सको ब्यानरमा बनेको यो चलचित्र जेठ २५ गते विश्वभर रिलिज हुँदैछ ।

प्रतिक्रिया